२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकाले गोप्य रुपमा युक्रेनलाई दियो लामो दुरीका ब्यालेस्टिक मिसाइल

अमेरिकाले गोप्य रुपमा युक्रेनलाई दियो लामो दुरीका ब्यालेस्टिक मिसाइल

वासिङटन डिसी : रुसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ । अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्।

यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुग्न थालेका बीबीसी समाचारमा उल्लेख छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त मिसाइल क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक प्रयोग गरिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन्।

अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठूलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।

तर, गत फेब्रुअरीमा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई बाइडेनले गोप्य रूपमा सहमति दिएको समाचारमा जनाइएको छ । यी क्षेप्यास्त्रहरूले ३०० किलोमिटरको दूरीमा हमला गर्न सक्छन्।