८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

मानवअधिकार समाजसेवी पुरस्कार डा. बिष्णु माया परियारलाई

मानवअधिकार समाजसेवी पुरस्कार डा. बिष्णु माया परियारलाई

काठमाडौं : मानवअधिकार समाजसेवी पुरस्कार डा बिष्णु माया परियारलाई प्रदान गरिएको छ। अमेरिकाको न्यूजर्सीमा बस्ने समाज सेवी तथा महिला अधिकारकर्मी डा परियारलाई १ लाख १० हजार सहित प्रतिष्ठित मानवअधिकार पुरस्कार प्रदान गरिएको हो। नेपालमा आयोजित एक समारोहमा नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले परियारलाई प्रशंसापत्र र पुरस्कार प्रदान गर्नुभएको हो।

मानवअधिकार, सामाजिक न्याय र नागरिक सशक्तीकरण क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउनुभएकी डा परियारलाई ‘बद्री पहाडी समाजसेवा पुरस्कार—२०८०’ बाट सम्मानित गरिएको हो ।

यो पुरस्कार मानवअधिकार तथा शान्ति समाजले हरेक वर्ष मानवअधिकार, सामाजिक श्रेत्रमा काम गर्ने मान्छेलाई दिने गरेको शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए। डा परियारले बिगत अढाई दशकदेखि दलित गरिव बालबालिका तथा महिलाको उत्थान र अधिकारका लागि काम गर्दै आएकी छिन्।

नेपालमा आयोजित समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

पूर्वप्रधानन्यायाधीश कार्कीले डा. परियारको प्रसंसा गर्दै भन्नुभयो, ‘जीवनमा कडा परिश्रम एवं क्षमताले मात्रै उपलब्धि हासिल हुन्छ भन्ने उदाहरण हुन् डा. परियार।’

डा परियारले पुरस्कारबाट प्राप्त रकम बालबालिका तथा महिलाको उत्थानमा खर्च गर्ने घोषणा गर्नुभएको छ। डा परियारको जन्म सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा भएको हो।

डा. परियारको जीवनकथा हाल अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ। उहाँ हाल एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान) की संस्थापक अध्यक्ष हुनुहुन्छ। डा. परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ। उहाँलाई पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ ‘डक्टर अफ लेटर्स’ ले सम्मान गरेको थियो।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शुशीला कार्की, उपसभामुख इन्दिरा रानामगर, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भडारीलगायत विशिष्ट व्यक्ति सहभागी थिए।