६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

सुहाङको अधिवक्तादेखि सांसदसम्मको यात्रा

सुहाङको अधिवक्तादेखि सांसदसम्मको यात्रा

इलाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै संसद् यात्रा सुरु भएको छ।

एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन्। सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९ सय ४२ मत प्राप्त गरे।

सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा काठमाडौँमा भएको थियो। काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका हुन्। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका थिए। त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्किएका हुन्।

स्वदेश फर्केर उनले काठमाडौं स्कूल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानूनमा एलएलएम अध्ययन पूरा गरे। सुवास आफू कानून पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानून नै पढाएका थिए। सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए।

सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे। स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले।

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरेका थिए। पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए। फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन्।

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए। यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए। सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदानसमेत गरेका थिएन। आफ्नै बुबा उम्मेद्वार हुँदासमेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन्।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि नभएका सुहाङलाई परिस्थितिले सांसद बनायो। बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो। सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो। नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका छन्।

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ।

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्धा इलामको नागरिकको साझा भएको उनको भनाइ छ। राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ। उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन्।

समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ।

हाल सुहाङ एमालेको कानून विभागको केन्द्रीय सदस्य हुन्। उनका एक दाजु, एक दिदी र एक बहिनी छन्। उनकी दिदी सुसाङ पेशाले डेण्टल सर्जन हुन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छिन्।