काठमाडौँ: सन् २०२४ को आईसीसी टी–२० विश्वकपसँगै एनरिच नोर्ट्जेले करिब ९ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने भएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका नोर्ट्जेलाई टी–२० विश्वकपका लागि दक्षिण अफ्रिकाले १५ सदस्यीय टोलीमा समावेश गरेको हो। टोलीको कप्तानी एडेन मार्करामले गर्नेछन्।
ओपनर रायन रिकलटन र तीव्रगतिका बलर ओटानिएल बार्टम्यानलाई पनि टोलीमा समावेश गरिएको छ। उनीहरू टी–२० अन्तर्राष्ट्रियमा डेब्य गर्ने तयारीमा छन्।
साउथ अफ्रिका टी–२० प्रिमियर लिगमा रिकलटनले सर्वाधिक रन बनाएका थिए। त्यस्तै, हालै सम्पन्न साउथ अफ्रिका टी–२० च्यालेन्जमा पनि उनी दोस्रो सर्वाधिक रनकर्ता थिए।
गत वर्ष एक दिवसीय क्रिकेटबाट सन्न्यास लिएका क्विन्टन डि ककका लागि यो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्छ। दक्षिण अफ्रिकाले नोर्ट्जे, बार्टम्यान, कागिसो रबाडा र जेराल्ड कात्जीसहित चार तीव्रगतिका बलरलाई टोलीमा समावेश गरिएको छ।
लुन्गी एनगिडी र नान्द्रे बर्जरलाई ट्राभल रिजर्भको रूपमा छनोट गरिएको छ। स्पिनरमा केशव महाराज, ब्योर्न फोर्टुइन र तबरेज शम्सी टोलीमा अटाएका छन्। मार्को जेनसेन एक मात्र अलराउन्डर हुन्।
मार्कराम, हेनरिक क्लासेन, डेभिड मिलर र ट्रिस्टन स्टब्सले टोलीको मध्यक्रम सम्हाल्ने छन्। फाफ डु प्लेसिसले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने अपेक्षा गरिएको थियो। तर, उनी टोलीमा अटाएका छैनन्।
रासी भान डेर डुसेन र म्याथ्यु ब्रेट्ज्के पनि टोलीमा अटाएका छैनन्। तर, उनीहरूले ए टोलीसँग यात्रा गर्नेछन्, जसले विश्वकपअघि वेस्ट इन्डिजविरुद्ध टी-२० शृङ्खला खेल्नेछ।
दक्षिण अफ्रिकी टोली:
एडेन मार्कराम (कप्तान), ओटानिएल बार्टम्यान, जेराल्ड काट्जी, क्विन्टन डि कक (विकेटकीपर), ब्योर्न फोर्टुइन, रिजा हेन्ड्रिक्स, मार्को जेनसेन, हेनरिक क्लासेन, केशव महाराज, डेविड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रेयान रिकलिन, तबरेज शम्सी र ट्रिस्टन स्टब्स