६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा

टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा

वासिङ्टन डिसी : टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ । अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेको थियो । सो कानुनको विरुद्धमा टिकटक अदालतमा गएको हो ।

बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रको समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर गरेका थिए । व्यवसाय बेच्ने प्रक्रियामा प्रगति भइरहेको देखिएमा कम्पनीले थप ३ महिनाको म्याद पनि पाउनेछ । टिकटकको व्यवसाय बेच्ने कुरा व्यावसायिक, प्राविधिक र कानुनी रूपमै समेत सम्भव नभएको टिकटकको तर्क छ । कङ्ग्रेसले इतिहासमै पहिलो पटक प्लेटफर्मको नाम तोकेर देशैभर प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।

विदेशी स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम रहेको अमेरिकी कानुन निर्माताहरूले लामो समयदेखि तर्क दिँदै आएका थिए । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मै कार्यकारी आदेशमार्फत टिकटकमाथि रोक लगाउन खोजेका थिए । तर सो प्रयास असफल भयो । कानुन पारित हुनु अघि टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा सुरक्षित गर्न २ अर्ब डलर भन्दा धेरै रकम खर्च गरेको थियो ।