२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ

अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडालगायतका देशहरुमा पठाइदिन्छौँ भनि विभिन्न तवरले विश्वास दिलाई विभिन्न व्यक्तिको राहदानी, फोटो, प्रहरी प्रतिवेदन, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कोड, पहेंलो ज्वरो कार्ड समेतका कागजातहरु लिएर विभिन्न शीर्षकमा रकम ठगी गरेका थिए ।

ती व्यक्तिहरुले आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक-पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यामा पुर्‍याएका थिए । पक्राउ परेकाहरुलाई मानव तस्करी गरी ठगी गरेको अपराधमा थप आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको उनको भनाइ छ ।