२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ ।

उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए । आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छोटो सूचनामा खाली गर्न तयार रहन जानकारी दिइयो । क्यानाडाली इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार शुक्रबार देशभर एक सय १७ वटा आगो सक्रिय रूपमा लागिरहेको छ र तीमध्ये ३३ वटा नियन्त्रण बाहिर रहेका छन् ।

क्यानाडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले ठूलो जङ्गली डढेलोको जोखिम निम्त्याउन सक्ने बिहीबार चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो ।

क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी हुँदा १७ करोड दुई लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो ।