२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

हमासको सशस्त्र शाखाले सार्वजनिक गर्‍यो गाजामा बन्धक बनाइएकाको भिडियो

हमासको सशस्त्र शाखाले सार्वजनिक गर्‍यो गाजामा बन्धक बनाइएकाको भिडियो

हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ ।

एघार सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । यसमा अरबी र हिब्रू भाषामा ‘समय समाप्त हुँदैछ, तपाईंको सरकारले झुटो बोलिरहेको छ’ लेखिएको छ ।

समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा बन्धकले दबाबमा बोल्दै गरेको देखाइएको छ । यो गाजामा बन्दी बनाएको एक महिनाभन्दा कम समयमा जारी गरिएको तेस्रो फुटेज थियो ।

अप्रिल २७ मा समूहले जारी गरेको एउटा भिडियोमा दुई बन्धक किथ सिगल र ओमरी मिरानलाई जीवित देखाइएको थियो । यसको तीन दिनअघि समूहले अर्को प्रसारण गरेको भिडियोमा बन्धक हर्श गोल्डबर्ग–पोलिनलाई जीवित देखाइएको थियो।

अक्टोबर ७ मा हमास लडाकू समूहले दक्षिणी इजराइलमा हमला गरेर गाजा क्षेत्रबाट करिब दुई सय ५० मानिसलाई बन्धक बनाएको थियो । इजराइली अधिकारीहरूक अनुसार तीमध्ये एक सय २८ लाई अहिले पनि प्यालेस्टिनी क्षेत्रमा बन्दी बनाइएको छ । तीमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।

हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० भन्दा बढी इजराइली र विदेशीहरूको मृत्यु भएको आधिकारिक इजराइली आँकडाले बताएको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३४ हजार नौ सय ७१ जनाको मृत्यु भएको छ ।