१ असार २०८२, आइतवार
15 June 2025, Sunday

हत्याको षड्यन्त्रपछि युक्रेनी राष्ट्रपतिले बर्खास्त गरे अंगरक्षक प्रमुख

हत्याको षड्यन्त्रपछि युक्रेनी राष्ट्रपतिले बर्खास्त गरे अंगरक्षक प्रमुख

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो रक्षाका लागि खटिएको टुकडीका प्रमुखलाई बर्खास्त गरेका छन्। उनको हत्याको षड्यन्त्र रचेको भन्दै दुई सैन्य कमान्डर पक्राउ परेपछि जेलेन्स्कीले यस्तो कदम चालेका हुन्।

हटाइएका सेर्गेइ रुड सन् २०१९ देखि नै राष्ट्रपतिको सुरक्षा प्रमुख थिए। उनलाई हटाउनुको कारण खुलाइएको छैन। तर, भीआईपीहरुको सुरक्षा व्यवस्था हेर्ने विभागले उच्चपदस्थहरुको सुरक्षाको व्यवस्थापनप्रति असन्तुष्टि जनाएको छ। मंगलबार स्टेट गार्ड एड्मिनिस्ट्रेसनका दुई कर्णेललाई रुसी गुप्तचरको मिलेमतोमा हत्याको षड्यन्त्र रचेको भन्दै पक्राउ गरिएको छ। जेलेन्स्कीले बारम्बार रुसले आफ्नो हत्या गराउन चाहेको बताउँदै आएका छन्। यसपटक उनीसहित सैन्य गुप्तचर विभागका प्रमुख किरिल बुदानोब र गुप्तचर प्रमुख वासिल माल्युकको पनि हत्या गर्न खोजिएको बताइएको छ।

माल्युकले बताएअनुसार जेलेन्स्कीका बडिगार्डहरुकै मिलेमतोमा उनलाई अपहरण र हत्या गर्ने षड्यन्त्र रचिएको थियो।  तर, त्यसमा ४७ वर्षीय रुडको संलग्नता थियो कि थिएन, खुलाइएको छैन। पक्राउ परेका कर्णेलसँग भने उनको निकटता थियो। थुप्रै वर्षअघि सैन्य एकेडेमीमा उनीहरुले सँगै पढेका थिए। जेलेन्स्कीले पछिल्लो समय मुलुकका सैन्य अधिकारीहरुलाई छिटोछिटो परिवर्तन गर्दै आएका छन्। एजेन्सी