७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

चोरीनिकासी रोक्न कालीगण्डकीका शालग्राम शिलाको नामाकरण गरिने

चोरीनिकासी रोक्न कालीगण्डकीका शालग्राम शिलाको नामाकरण गरिने

पर्वत : दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो।

प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामाकरण गर्न लागिएको जनाएको हो । समितिका संयोजक तारा रेग्मी पाध्याले आगामी जेठ ६ गते श्रीकृष्ण मोहिनी एकादशी तिथिको अवसरमा एक दिने शालग्राम महोत्सव आयोजना गरी सबै शिलामा देवी, देवता र भगवानका नामबाट नामाकरण गरिने जानकारी दिए। उनले त्यसदिन प्रत्येक भक्तजनले एक सय आठ शिलामा भगवान नामोच्चरण लेख शिलाङ्कित गरी पुण्य कमाउन पनि अनुरोध गरे।

संरक्षण समितिका सचिव हरेमबहादुर खत्रीले कालीगण्डकी नदी र शालग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्न समितिले अभियान थालेको बताए। किनारमा रहेका साना, ठूला, चक्राङ्कित, निष्चक्राङ्कित सबै शिलाको संरक्षणका लागि यो अभियान थालिएको र नामाकरणपछि चोरी, निकासी वा उत्खनन् गरेमा पनि खोजी गर्न सहज हुने उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय अवैधरूपमा भइरहेको नदी दोहनका कारण शालग्राम शिलाको अस्तित्व संकटमा पर्दै गएको छ । बहुमूल्य र धार्मिकरूपमा महत्वपुर्ण मानिने शालग्राम शिला ढुङ्गा, गिट्टी र चोकरको रूपमा प्रयोग भइरहेको छ ।

हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ । त्यसमा पनि नदी किनारमा ऋषिहरू पुलह, पुलत्व्स, कपिल र जडभरतले तपस्यागरी सिद्धीप्राप्त गरेको पौराणिक मान्यता भएकाले यहाँको शिला धार्मिक हिसावले महत्वपूर्ण मानिएको पण्डित लोकनाथ आचार्यको भनाइ छ । कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन र दैनिक घरमा पुजन गर्दा राम्रो हुने विश्वास गरिएको छ ।

शालग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रूपमा समेत पुज्ने गर्दछन् । हरेक घरमा पाँचवटा शालग्राम शिला राखेमा उक्त घर पवित्र मानिन्छ । हिन्दूहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो । यो नदीबाट मूर्ति निर्माण तथा शिला पुजनका लागि स्वदेशमा मात्रै होइन विदेशमासमेत शिला लैजानेक्रम बढ्दै गएको छ ।