९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

संसद्‍मा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल, प्रतिनिधिसभाको बैठक स्थगित

संसद्‍मा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल, प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा एमाले र प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुबीच संसद्‍मा नै धकेलाधकेल भएपछि बैठक स्थगित भएको हो।

बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन्।

संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरूले नाराबाजी गर्दै संसद अवरुद्ध पारेका थिए। सभामुखले बैठक अगाडि बढाएपछि कांग्रेसले संसदीय मर्यादा कायम गर, जबर्जस्ती गर्न पाइँदैन भन्दै नाराबाजी गरे ।

सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएलगत्तै कांग्रेसका सांसदहरू आक्रामक बने। आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो ।

कांग्रेस सांसदहरू आक्रामक बनेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उठेर सम्झाउने प्रयास गरेका थिए। त्यसबीच ओली र कांग्रेस सांसदबीच भनाभन भएको थियो। एमालेका अन्य सांसद् पनि आएर धकेलाधकेल गरेका थिए।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गरेको जानकारी गराउँदै समय दिएका थिए तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।