हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा-काठमाडौं जोड्ने सडक विस्तारको कामले पूर्णता नपाउँदा बर्खा शुरु नहुँदै यात्रा जोखिमपूर्ण बनेको छ। धेरै सडकले दुई राजधानीलाई नजिक बनाउन खोजे पनि जोखिम नभएका सडक नै छैनन्।
बागमती प्रदेश सरकारले हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका मार्गमा तीन आर्थिक वर्षदेखि भैँसे-कुलेखानी-फाखेल-फर्पिङ सडकखण्ड र भैसे-कुलेखानी-सिस्नेरी-दक्षिणकाली- फर्पिङ खण्डको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ, तर निर्माण सम्पन्न नहुँदा यात्रा जोखिमपूर्ण छ।
हेटौंडा-काठमाडौं जोड्ने छोटा मार्गको फाखेल फर्पिङ सडखण्ड बर्खायाम शुरु नहुँदै अवरुद्ध हुन थालिसकेको छ। यात्रु दुई तीन घण्टासम्म जाममा बस्नुपर्ने बाध्यतामा छन्।
हेटौंडा-काठमाडौं जोड्ने भैँसे-फाखेल-फर्पिङ-बल्खु र भैँसे-भीमफेदी-सिस्नेरी-फर्फिङ्-बल्खु सडकखण्ड छोटा मार्ग हुन्। लामो दूरीको पुरानो त्रिभुवन राजपथ र अलिक छोटो कान्ति लोकपथ पनि छन्।
जिल्लाको उत्तरी क्षेत्रस्थित कुलेखानी नजिक पुगेपछि थाहा नगरपालिकाको चित्लाङ हुँदै गणेशमान मार्गबाट नागढुंगा पुग्नेसडक पनि छ। इन्द्रसरोबरको महालक्ष्मी खोलाबाट चन्द्रगिरी हुँदै कलंकी नजिकको सतुंगल पुग्न अर्को छोटो वैकल्पिक मार्ग पनि छ।
सबैभन्दा लामो दूरीको अर्थात् हेटौँडाबाट चितवन-मुग्लिन हुँदै मलेखु निस्किएर वा सिन्धुलीबाट काभ्रेको धुलिखेल निस्किएर पनि काठमाडौं उपत्यका प्रवेश गर्न सडक सञ्जाल छन्। तर, मकवानपुरवासीले जिल्लाको उत्तरी क्षेत्रका छोटा सडक नै नियमित प्रयोग गर्ने गरेका छन्। छोटो मार्गका सबै सडक भने जीर्ण भएकाले यात्रा अत्यासलाग्दो बनिरहेको छ। सडक जीर्ण भए पनि सयौँको संख्यामा चल्ने टाटा सुमोले यात्रुलाई सकभर सुरक्षित रूपमै लैजाने-ल्याउने गराइरहेको चालक लक्ष्मण लामा बताउँछन्।
हाल निर्माण भईरहेको मार्गमध्ये सबैभन्दा जोखिमयुक्त रहेको सडकखण्डको हेवीबाट हुमाने भन्ज्याङसम्म अर्को प्याकेजमा ठेक्का सम्झौता भई काम भइरहेको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए।
यो सडकखण्डमा फाकेलको पुरनीदेखि सडक चौडा गर्ने र नाली गर्ने काम धमाधम भइरहेको र सडक चौडा सम्पन्न भइसकेको ओझाले बताए। सडकखण्डको किलोमिटर सबग्रेटको काम भइसकेको छ। बर्खा अगावै ग्र्याभेलिङको काम गर्नुपर्ने अवस्था रहेको उनले बताए। ठेक्काको म्याद एक वर्षको भएकालेयो वर्ष कालोपत्रे नहुने र बर्खाअघि ग्राभेल मात्रै हुने उनले जानकारी दिए।
प्रदेश सरकारको दुई अर्ब ५० करोड लगानी
विभिन्न प्याकेजमा निर्माण भइरहेको सडकको भिमफेदीदेखि-कुलेखानी खण्डको १६ किलोमिटर दुई वर्ष अगाडि नै सम्पन्न भइसकेको अवस्था थियो। हाल भैँसेदेखि -भिमफेदीसम्म साढे ११ किलोमिटर बाटोमा ११ किलोमिटर बाटो सम्पन्न भइसकेको छ।
कुलेखानीको हेवी पुगेपछि दक्षिणकाली जान दुईवटा रुट छन्। त्यसमा एउटा सिस्नेरी र अर्को फाकेलबाट जान्छ। सिस्नेरीबाट जाने हेवीबाट ज्यामिरेसम्म ५ किलोमिटर दुई वर्षअघि नै कालोपत्र सम्पन्न भइसकेको छ। ज्यामिरेदेखि रामचन्द्र भञ्ज्याङसम्म १२ किलोमिटर मकवानपुर खण्ड कालोपत्र भइरहेकाले र असारसम्म सम्पूर्ण काम सम्पन्न हुने ओझाले जनाएको छ। रामचन्द्र भञ्ज्याङदेखि दक्षिकालीदेखिसम्मको खण्ड सुस्त गतिमा काम भइरहेकाले यो आर्थिक वर्षमा सक्न कठिन हुने देखिएको छ।
हुमाने भञ्ज्याङबाट फर्पिङसम्म तीन प्याकेजमा काम भइरहेकोमा दुईवटा पूर्वाधार विकास कार्यालय ललितपुरबाट सम्पन्न भइसकेको छ। भैंसैदेखि भीमफेदीसम्मको सडक निर्देशनालयले सम्पन्न गरेको हो हो। भीमफेदीदेखि कुलेखानी दुई वर्षअघि सकिएको पनि यातायात पूर्वाधार निर्देशनालयबाट हो। हेवीबाट ज्यामिरेसम्मको ५ किलोमिटर पूर्वाधार विकास कार्यालय चितवनले सम्पन्न गरेको छ।
ज्यामिरेबाट दुईवटा प्याकेजमा रामचन्द्र भञ्ज्याङसम्म १२ किलोमिटर र रामचन्द्र भञ्ज्याङदेखि छैमले हुदै दक्षिणकालीसम्मको ८ किलोमिटर राजधानी पूर्वाधार विशेष आयोजनामार्फत काम भइरहेको जनाएको छ।
हेवीदेखि फाखेलको कलंकीदेखि हुमाने भञ्ज्याङसम्मको पुर्वाधार विकास कार्यालय चितवनबाट र हुमानेबाट फर्पिङसम्म पूर्वाधार विकास कार्यालय ललितपुरबाट भइरहेको छ। त्यसमा दुई प्याकेजमा साढे ७ किलोमिटर सम्पन्न भएको हुमाने भञ्ज्याङबाट दुई प्याकेजमा र अर्को त्यहाँभन्दा पछाडि अढाइ किलोमिटरको प्याकेज पनि धमाधम भइरहेको छ। म्याद भदौसम्म हुनाले बर्खा अगाडि सम्पन्न नहुने देखिएको छ।
निर्माणाधीन सडकका लागि प्रदेश सरकारको दुई अर्ब ५० करोड बजेट रहेको ओझाले बताए। उनका अनुसार यो सडक खण्डमा हालसम्म करिब डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ।