८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

रोटरी सेवा दिवसको अवसरमा रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सद्वारा पार्क सरसफाइ कार्यक्रम

रोटरी सेवा दिवसको अवसरमा रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सद्वारा पार्क सरसफाइ कार्यक्रम

न्यूयोर्क : रोटरी सेवा दिवसको अवसरमा रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सका सदस्यहरुले प्लेग्राउन्ड पार्क सरसफाइ गरेका छन्।

रोटरी इन्टरनेशनलले हरेक वर्षको मे १८ को दिन रोटरी सेवा दिवस मनाउने गर्छ। सोही अवसरमा यसपालि पनि शनिबार सरसफाइ कार्यक्रम गरेर उक्त दिवस मनाइएको हो।

रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सले ब्रोडवे ४५ औं एभिन्यू र ८२औं स्ट्रीट क्वीन्समा रहेको मूर होमस्टेड प्लेग्राउन्ड पार्कमा क्लीनअप कार्यक्रम आयोजना गरेको हो।

सेवाभावले समर्पित यो संस्थाको मुख्य आदर्श वाक्य नै ‘स्वयम्भन्दा माथि सेवा'(सर्भिस एवभ सेल्फ) रहेको छ। त्यसैलाई मूर्तता दिन नै उक्त कार्यक्रम गरिएको सदस्यहरुले जनाएका छन्।

सर्वसाधरणले आफ्नो स्वास्थ्य र आत्मकल्याणलाई कायम राख्दै पार्कको सुन्दरताको आनन्द लिन सकून् भन्ने उद्देश्यले पार्कको सरसफाइ गरिएको उनीहरुले बताएका छन्।

यस कार्यक्रमले क्लबको भविष्यका कार्यहरु र यसका सरसफाई अभियानहरू पछाडिको महत्त्व र उद्देश्यलाई प्रवर्द्धन गर्नै कार्य गर्दछ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष नवराज केसी, अध्यक्ष हंसराज जोशी र नवनिर्वाचित अध्यक्ष अर्बिन पौडेलले बोल्दै यस्ता सेवापूर्ण भावले गरिएका कामहरुले एकता, करुणा र सशक्तिकरणको भावनालाई समाजमा प्रवर्द्धन गर्न बलियो भूमिका निर्वाहा गर्न सक्ने बताएका छन्।

उनीहरुले सेवापूर्ण कार्यहरुको महत्त्व प्रकाश पार्दै यसले व्यक्तिहरूलाई उनीहरूको समुदायको सुधारमा निस्वार्थ रूपमा योगदान गर्न प्रोत्साहन गर्ने बताए। साथै आफ्नो समय र प्रयासद्वारा हामी वरपरका मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छौं भन्ने सकारात्मक भावना पनि पलाउने उनीहरुको भनाइ थियो।