७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

प्रतिपक्षीलाई पेलेर लिए प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत

प्रतिपक्षीलाई पेलेर  लिए प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीच विश्वासको मत पाएका हुन्। मतदानमा १५८ जना सांसद सहभागी भएकोमा एक जना तटस्थ बसे भने विपक्षमा शून्य मत पर्‍यो।

प्रधानमन्त्री दाहाललाई १५७ सांसदले मत दिएका छन्। दाहाललाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका छन्।

नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू मतदान प्रक्रियामा सहभागी भएनन्। नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए।

सभामुखले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेस सांसदहरुले आफ्नो आशनबाट उठेर विरोध गरेका थिए। संसदीय मान्यता अनुसार एक जना सांसद उठे पनि बैठक अघि बढाउन मिल्दैन। तर सभामुख घिमिरेले दर्जनौं सांसदको नाराबाजीबीच बैठक सञ्चालन गरे। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सकिएसँग बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजेसम्म स्थगित भएको छ।

नाराबाजीकै बीचमा विश्वासको मत मागेका प्रधामन्त्री प्रचण्डले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अवरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका थिए। ‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपा‍ईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ। त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि बताए। ‘तपाईंहरू कांग्रेसका लागि चर्को पर्नेछ। आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ। कलंकको रूपमा,’ उनले भने।

नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातिएको टिप्पणी गरे। ‘सरकारलाई स्थायित्वको साथमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता थियो। यसबीचमा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने, कुनै पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर बनाउने, सरकारलाई बदल्ने खालका कोसिसहरू पनि भए। तर कोसिस माकुराको जालो जसरी च्यातियो, त्यो कुनै लुकेको कुरा होइन। सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातियो,’ उनले भने।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्। जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो र समर्थनसमेत फिर्ता लिएको थियो।

संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्छ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो। त्यसपछि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए।

त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए भने प्रस्तावको विपक्षमा ११० मत परेको थियो। प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो।  प्रधानमन्त्री प्रचण्डले आज चौथोपटक विश्वासको मत लिएका हुन्।