८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

सन्दीप लामिछानेको सफलता र पतन चलचित्रको कथा जस्तो – जाहेरीदेखि सफाइसम्म

सन्दीप लामिछानेको सफलता र पतन चलचित्रको कथा जस्तो – जाहेरीदेखि सफाइसम्म

सन्दीप लामिछानेको क्रिकेट करिअरको सुरुआत र उनले छोटो समय भित्रै पाएको सफलता र पतनको विवरण चलचित्रको नाटकीय कथाजस्तो देखिन्छ।

बुबा चन्द्रनारायण भारतीय रेल्वेमा जागिर खाने क्रममा त्यहीँ चार कक्षासम्म पढी क्रिकेट सिकेर नेपाल फर्केका सन्दीप चितवन क्रिकेट एकेडेमीको विद्यार्थी बनेका थिए। सन् २०१५ मा नेपाल क्रिकेट टोलीका क्यानडेली मूलका श्रीलङ्काली प्रशिक्षक पुबुदु दशानायकेले ‘लेग स्पिन’ मा सिपालु सन्दीप लाई सिधै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाए।

सन् २०१६ ज्यानुअरीमा बाङ्लादेशमा भएको यू-१९ विश्वकप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। भारतीय फ्रेञ्चाइज क्रिकेट लीग (आइपीएल) मा ३२ लाख रूपैयाँ नेपालीमा दिल्ली क्यापिटल्सले सन्दीपलाई किनेपछि उनी नेपालबाट आइपीएल खेल्ने पहिलो खेलाडी बने।

क्यारिबिअन प्रिमिअर लिग सीपीएल, होवर्ट हुरिकन्स, केरला नाइट्स, लाहोर कलन्डर्स, मोन्ट्रियल टाइगर्स, सर्री जगर्स, कोची तस्कर्स केरला, नान्गरहर लियोपार्डस्, सिलेट सिक्सर्स, बारबाडोस ट्रिडेन्टस्, जमैका तलावास, मेलवर्न स्टार्स, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स, टोरोन्टो नेसनल्स उनले खेलेका फ्रेञ्चाइज प्रतियोगिताहरू हुन्।

विश्व क्रिकेटमा सबैभन्दा कम खेलेर १०० विकेट लिने कीर्तिमान उनले बनाएका थिए। त्यस्तै उनी टी-२० मा २९ खेलबाट ५० विकेट लिने खेलाडीको सूचीमा विश्वको छैटौँ स्थानमा छन्।

सन्दीप लामिछानेविरुद्धको मुद्दा: जाहेरीदेखि सफाइसम्म

  • २०७९ भदौ २१ गते: जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता
  • २०७९ भदौ २३ गतेः जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी
  • २०७९ भदौ २३ गते: राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन
  • २०७९ असोज २० गतेः विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ
  • २०७९ कात्तिक १४ गते:जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता
  • २०७९ कातिक १८ गते : पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंको आदेश
  • २०७९ पुस २८ गतेः उच्च अदालत पाटनद्वारा २० लाख धरौटीमा छोड्न आदेश
  • २०७९ माघ १६ गते: क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा
  • २०७९ फागुन १५ गतेः सर्वोच्च अदालतद्वारा क्रिकेट खेल्न विदेश जाने अनुमति
  • २०८० पुस १३ गतेः जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर
  • २०८० पुस २५ गतेः ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्तिको सजाय निर्धारण
  • २०८० पुस २६ गतेः क्यानद्वारा अनिश्चितकालका लागि राष्ट्रिय टीमबाट निलम्बन
  • २०८० फागुन १० गतेः जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन
  • २०८१ जेठ २ गतेः सन्दीपको पक्षमा फैसला निर्दोष ठहर

उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । बुधबार उच्चले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

बलात्कार मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

क्रिकेटर सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो समेत खुलेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी दिएका छन्।

सन्दीप फर्किए विश्वकप खेल्ने टोलीबाट को बाहिरिएलान्?

लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोलीमा फर्किए एक खेलाडी टोलीबाट बाहिरिनेछन्। जिल्ला अदालतबाट बलात्कार मुद्दामा ८ वर्षको सजाय पाएका सन्दीपले त्यसको पुनरावेदनमार्फत उच्च अदालत पाटनबाट सफाइ पाएसँगै टोलीमा फर्किने सम्भावना उच्च छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको निलम्बन फुकुवा गर्दै उनलाई टोलीमा फर्काउने तयारी गरिरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपका लागि घोषणा गरेको टोलीमा ७ गते सोमबारसम्म परिवर्तन गर्नसक्ने समय तोकेको छ।

यसका लागि क्यानले उनको निलम्बन फुकुवा गरेर आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। सन्दीप टोलीमा फर्किए एक खेलाडी विश्वकप खेल्ने टोलीबाट बाहिरिनेछन्। अहिले टोलीमा मुख्य दुई लेगस्पिनर छन्।

ललित राजवंशी टोलीमा नियमित रहँदा अर्का स्पिनर बाहिरिने सम्भावना छ। अहिले टोलीमा दुई तीव्र गतिका बलर सोमपाल कामी र करण केसी रहेकाले लेगस्पिनरको आवश्यक छ। त्यसैले सन्दीप टोलीमा फर्किँदा स्पिनरबाट बाहिरिने सम्भावना छ।

अहिले १५ सदस्यीय टोली वेस्ट इन्डिज र अमेरिका भ्रमणमा छ। यसअघि क्यानले गत वैशाख १९ गते सागर ढकाल र कमलसिंह ऐरीलाई समेट्दै १५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको थियो। क्यानले वैकल्पिक खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा जुन ४ मा नेदरल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ। जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ।

विश्वकप खेल्ने टोली

रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी