‘ट्रम्प प्रवृत्ति’ अमेरिकी समाजका लागि चिन्ता
- ०९ जेष्ठ २०८१
- ४ मिनेटको पढाई
न्यूयोर्क-अमेरिकामा यसै वर्षको नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचन हुँदै छ। निर्वाचनमा वर्तमान राष्ट्रपति जोए बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। बाइडेन डेमोक्रेटिक पार्टीबाट र ट्रम्प रिपब्लिकन पार्टीबाट चुनावी मैदानमा छन्। बाइडेन शालीन, भद्र र व्यवहारिक नेता हुन्। ट्रम्प अराजक, उग्र र आक्रामक छन्। उनले आफूले यस पटकको चुनाव नजिते अमेरिकामा रक्तपात हुने चेतावनी दिएका छन्। ट्रम्पको यो प्रवृत्ति अमेरिकी समाजका लागि चिन्ताको विषय बनेको छ।
यतिबेला उनी पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्ससँग जोडिएको मुद्दामा अदालत धाइरहेका छन्। ड्यान्यल्सलाई चुप बस्न पैसा दिएको अभियोगमा ट्रम्पमाथि मुद्दा चलिरहेको छ। त्यस्तो भुक्तानी दिनका लागि झुटो व्यापारिक विवरण तयार पारेको आरोपमा आपराधिक मुद्दा खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्।
ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र सन् २०१६ को चुनावअघि त्यसबारे चुप रहनका लागि ट्रम्पका पूर्ववकिलले १ लाख ३० हजार डलर आफूलाई दिएको दाबी ड्यान्यल्सले गरेकी छन्। ती वकिल माइकल कोहेन हुन्। उनीमाथि पनि विभिन्न मुद्दा लगाइएको छ। उनी अहिले जेलमा छन्। ड्यान्यल्सले सन् २०१८ मा आरोप लगाएपछिदेखि नै ट्रम्पले चाहिँ आफूले उनीसँग यौन सम्बन्ध नराखेको दाबी गर्दै आएका छन्।
ड्यान्यल्सको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो। उनी अहिले ४५ वर्षकी भइन्। लुजियानामा जन्मिएकी यी पोर्नस्टार तथा निर्देशकले त्यस्ता वयस्क चलचित्रमा गरेको कामका लागि कैयौँ पुरस्कारहरू पनि पाएकी छिन्। उनले हलिउड चलचित्रहरूमा पनि पात्रको भूमिका निभाएकी छन्। राजनीतिमा पनि आफू संलग्न रहेको बताउँदै पहिले आफूलाई रिपब्लिकन पार्टीमा रहेको बताउँथिन्। ट्रम्प पनि रिपब्लिकन पाटीबाटै राष्ट्रपति बनेका हुन्।
ड्यान्यल्स र ट्रम्पबीच सन् २००६ को जुलाईमा आयोजित एक च्यारिटी गल्फ प्रतियोगितामा भेट भएको थियो। क्यालिफोर्निया र नेभाडाबीचमा पर्ने रिसोर्ट क्षेत्र लेक टाहोस्थित ट्रम्पको होटेलको कोठामा ट्रम्पले यौनसम्पर्क गरेको उनको आरोप छ। ट्रम्पका एकजना वकिलले भने सोही समयमा नै उक्त कुरा अस्वीकार गरेका थिए।
ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प भने उक्त प्रतियोगितामा सहभागी भएकी थिइनन्। त्यतिखेर उनले भर्खरै बच्चा जन्माएकी थिइन्। ड्यान्यल्सले सन् २०१६ को चुनावभन्दा केही दिनअघि कोहेनले ट्रम्पसँगको उनको सम्बन्धबारेमा चुपचाप बस्नका लागि एक लाख ३० हजार डलर रकम दिएको बताएकी छन्। उक्त चुनाव ट्रम्पले जितेका थिए।
आफ्नो परिवारको सुरक्षाको लागि चिन्तित भएकाले त्यो रकम आफूले लिएको उनी बताउँछिन्। आफूलाई कानुनी र भौतिक क्षति पुर्याउने धक्की दिएर चुप लगाइएको उनको दाबी छ।
नन् डिस्क्लोजर एग्रिमेन्ट (एनडिए) भनिने कुनै कुरा गोप्य राख्न गरिने सम्झौताका लागि कसैलाई क्षतिपूर्तिस्वरूप रकम दिनु गैरकानुनी होइन। तर अभियोजनकर्ताहरू कोहेनले दिएको रकम ट्रम्पको व्यापारिक खातामा कसरी दर्ता गरिएको थियो भन्ने कुरामा केन्द्रित भएका छन्। व्यापारिक विवरणमा उक्त रकमलाई कानुनी शुल्क भन्ने वर्गमा राखेर झूटा विवरण तयार पारेको आरोप उनलाई लगाइएको छ। उक्त अनलाइन भुक्तानी राष्ट्रपति चुनावको केही दिनअघि भएको थियो।
एक जना अभियोजनकर्ता एल्भिन ब्रागले ट्रम्पले खतरनाक सूचनाहरू लुकाउने अपराध गरेको अभियोग लगाएका छन्। सन् २०१८ को अगस्टमा कोहेनलाई कर छली र क्यान्पेन फाइनान्सका नियमहरू तोडेको आरोपमा दोषी ठहर्याइयो। उनलाई ड्यान्यल्स र ट्रम्पकी अर्की प्रेमिका भनिएकी महिलालाई भुक्तानी दिएको कुरासँग सम्बन्धित विषयमा जेल सजाय तोकिएको थियो। उनले सुरुमा उक्त भुक्तानीसँग ट्रम्पको कुनै सरोकार नभएको बताएका थिए। तर पछि उनले ट्रम्पले नै उनलाई एक लाख ३० हजार डलर भुक्तानी गर्न निर्देशन दिएको बताए। त्यसको क्षतिपूर्ति आफूले राष्ट्रपतिबाट पाएको उनले बयान दिएका थिए।
ट्रम्पले म्यानहटन फौजदारी अदालतसमक्ष झूटा व्यापारिक विवरण तयार पारेको सम्बन्धी ३४ विभिन्न आपराधिक मामिलामा आफू निर्दोष भएको विवरण पेस गरेका छन्। ड्यान्यल्सलाई भुक्तानी दिएको बारे त्यहाँ अभियोग लगाइएको थियो। ट्रम्पमाथि यौन सम्बन्धबारे मौन बस्नका लागि एक जना अर्की पूर्वप्लेबोय मोडेललाई भुक्तानी दिएको बारे पनि अनुसन्धान भइरहेको छ।
ट्रम्पका समर्थकहरूले उनको विगतको व्यवहार र उनीविरुद्ध महिलाले लगाएको आरोपलाई खारेज गरेका छन्। त्यस्ता व्यक्तिहरूमा धार्मिक क्षेत्रका अगुवाहरू पनि रहेका छन्। तर म्यानहटन मुद्दाको सुनुवाइ चुनावी वर्षमा भइरहेको छ र त्यसले राष्ट्रपतिको दौडमा रिपब्लिकन पार्टीको अग्रपङ्तिमा रहेका ट्रम्पलाई पटकपटक सुनुवाइमा उपस्थित हुनुपर्ने र चुनावी अभियान छाड्नुपर्ने अवस्थामा पुर्याउन सक्छ। यो सुनुवाइ ६ सातासम्म चल्ने छ। ट्रम्पले दिउँसो अदालतमा उपस्थित हुने र रातभरि चुनाव प्रचार गर्ने वाचा गरेका छन्। फौजदारी प्रतिवादीको रूपमा ट्रम्प अदालतमा उपस्थित हुनुपर्छ। न्यायाधीश जुआन मर्चनले ट्रम्प अदालतमा उपस्थित नभए उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने धम्की दिएका छन्। त्यसले ट्रम्पको चुनावी अभियानसम्बन्धी योजनाहरूलाई जटिल बनाउनेछ। तर एउटा फौजदारी सजायले पनि ट्रम्पलाई राष्ट्रपति चुनावका लागि अभियान जारी राख्नबाट रोक्न सक्दैन।
अमेरिकी कानुन अनुसार फौजदारी सजाय पाएका व्यक्तिले राष्ट्रपति बन्न नपाउने भन्ने छैन। वास्तवमा अमेरिकी कानुनमा त्यस्तो केही छैन जसले कुनै उम्मेदवारलाई चुनावी अभियान गर्न रोकोस् वा राष्ट्रपतिका रूपमा काम गर्न नै बन्देज लगाओस्। त्यस्तो अवस्थामा सजाय पाएर जेल परेको स्थितिमा कारागारबाटै पनि कसैले राष्ट्रपतिका रूपमा काम गर्न सक्छ।
यस पटकको चुनाव ट्रम्पको मुद्दाको कारण पनि रोचक बन्न सक्छ। ट्रम्पको यो मुद्दालाई आम मतदाताले अनुमोदन गर्ने हुन् वा बहिष्कार, त्यो चुनावी परिणामले देखाउने छ। अहिलेका दुई वृद्ध उम्मेदवार(बाइडेन ८१ वर्ष र ट्रम्प ७७ वर्ष)हरूबीच यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो। उक्त चुनावमा ट्रम्पलाई हराएर बाइडेन राष्ट्रपति बनेका हुन्। यस पटक पनि ट्रम्प नै बाइडेनका लागि प्रमुख चुनौती बनेका छन्।
विभिन्न मुद्दा खेपे पनि ट्रम्पले प्राइमरी चुनावहरूमा वर्चस्व कायम गरेका छन्। उनका प्रमुख प्रतिस्पर्धी निकी ह्याली चुनावी मैदानबाट पछाडि हटेका छन्। ट्रम्पले कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाएका छन्। ट्रम्पले जितेमा देश पछाडि फर्कने जोखिम रहेको चेतावनी बाइडेनको छ।
ट्रम्पलेचाहिँ खुला सीमा बन्द गर्नेदेखि लिएर ठूलो सङ्ख्यामा अवैध आप्रवासीलाई देशनिकाला गर्ने बताएका छन्। जलवायुसम्बन्धी पेरिस सम्झौताबाट हट्ने विषयमा उनी पुनः कटिबद्ध छन्।
पेरिस सम्झौतामा पुनः आबद्ध बाइडेनले सन् २०५० सम्म अमेरिकाले कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्ने पक्षमा छन्। उनले हरित ऊर्जाको क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन्।
अमेरिका लामो समय बेलायतको उपनिवेशमा रह्यो। अमेरिकामा सन् १६१९मा काला जातिका मानिसलाई दासका रुपमा अफ्रिकाबाट भित्र्याइएको हो। सुरुमा काला जातिका मानिसलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार थिएन। बेलायती उपनिवेशबाट सन् १७७६मा मुक्त भइ जर्ज वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरे। आन्दोलनले गृहयुद्धको रुप लियो। सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथा उन्मूलन गरियो।
बाराक ओबामा अमेरिकामा काला जातिकातर्फबाट पहिलोपल्ट राष्ट्रपति निर्वाचित भए। उनी लगातार दुई पटक सन् २००८ देखि २०१६ सम्म राष्ट्रपति बने।
यस पटक दुई वृद्ध नेता राष्ट्रपतिका उम्मेदवारीले अमेरिकालगायत विश्वभर चर्चा पाएको छ। बाइडेन र ट्रम्प दुवैले चुनाव जित्ने दाबी गरे पनि चुनाव कसको पक्षमा जाने हो भन्ने कुरा अमेरिकी मतदाताको हातमा छ।
ताजा खबर
ट्रेन्डिङ
सम्बन्धित खबर
अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुईजनाको मृत्यु
- ०८ मंसिर २०८१
- १ मिनेटको पढाई
मलेसियाको श्रम उत्पादकता २.६ प्रतिशतले बढ्यो
- ०७ मंसिर २०८१
- १ मिनेटको पढाई
पूर्वराजा लुम्बिनीको एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुँदै
- ०७ मंसिर २०८१
- १ मिनेटको पढाई
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्ध ‘कू’ प्रयासको आरोप
- ०७ मंसिर २०८१
- १ मिनेटको पढाई