भारत र बंगलादेशमा ‘रेमल’ को वितण्डा, लाखौं मानिस प्रभावित
- १५ जेष्ठ २०८१
- १ मिनेटको पढाई
भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । १३५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका ती क्षेत्र जलमग्न भएका छन्
रेमल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
चक्रवातका कारण कोही डुबेर मरेका छन् भने केहीले भने भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन् ।
रेमलका कारण बंगलादेशमा गरि कुल ३७ लाख ५० हजार मानिस प्रभावित भएको समाचार आएका छन् । ३५ हजार ४ सय ८३ घर ध्वस्त भएका छन् भने १ लाख १५ हजार ९ सय ९२ घरमा क्षति पुगेको छ ।
आँधीले बंगलादेशको कुआकाटा समुद्र तटमा रहेको एक बजार तहसनहस भएको छ । भारतको पश्चिम बङ्गाल राज्य सरकारले करेन्ट लागेर तीनसहित कम्तीमा ६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ ।
आँधीका कारण भारतमा पनि हजारौं घरहरु ध्वस्त भएका छन् । रुखहरु ढलेका छन् र विद्युत आपूर्ति अवरुद्ध भएको छ । हावाहुरीले कच्ची घरहरु उडाएका छन् । एक हजार बढी बिजुलीका पोलहरू उखेलिएको एनडीटीभीले जनाएको छ ।