२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सर्लाहीका जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न काँग्रेसको माग

सर्लाहीका जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न काँग्रेसको माग

सर्लाही : नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई  बर्खास्त गर्न सर्लाही काँग्रेसले माग गरेको छ।

सिंहले सर्लाहीको मनुष्मारा सिंचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आयोजनामा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो। सर्वोच्च अदालत काठमाडौंबाट उनको कसुर प्रमाणित भइसकेको छ। त्यसैले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी  बर्खास्त गर्न माग गरेको सर्लाही कांग्रेसले जनाएको छ।

अध्यक्ष सिंहमाथि सर्लाहीमा सिसौ काटेर भारत तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले दोषी ठहर गर्दै उनलाई साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला गरेको थियो। त्यसपछि सिंह पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनको पुनरावेदनमा दाबी नपुग्ने भन्दै दोषी ठहर गरेको छ।

राजनीतिक दल सम्बन्धि ऐन २ परिच्छेद- ३ को (ख)विपरत तथा नेपाली काँग्रेसको संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएमा पार्टीको साधारण सदस्यसमेत रहन नपाउने कानूनी व्यवस्था रहेको छ।

सोही कानूनी आधारमा नै अध्यक्ष सिंहलाई पदबाट बर्खास्त गर्न माग गरिएको काँग्रेस सर्लाहीका क्षेत्रीय सभापति कौशल किशोर रायले बताए। सर्वोच्च अदालत पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेकोले पदबाट बर्खास्त गर्न ढिलाइ गर्न नहुने क्षेत्रीय सभापति रायले जोड दिए।

कांग्रेसका सभापति शेर बहादुर देउवा समक्ष सो माग लिएर सर्लाहीबाट उपसभापति नवीन प्रसाद अधिकारी र सर्लाही क्षेत्र न-१ का सभापति हरि बहादुर लुंगेली पुगेका छन्।