६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

आफ्नै कीर्तिमानी तोड्ने तयारीमा कामरिता, २९ औं पटक सगरमाथा आरोहण गर्ने

आफ्नै कीर्तिमानी तोड्ने तयारीमा कामरिता, २९ औं पटक सगरमाथा आरोहण गर्ने

काठमाडौं : सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा छन्।

गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा छन्। सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन्।

वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौंबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने, ‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ । यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ ।’ करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेका आरोही कामिरिताले जानकारी दिए। सेभेन समिट ट्रेक्स प्रालिमार्फत उनी आरोहणका लागि शिखरतर्फ जाने तयारीमा छन्।

सेभेन समिट ट्रेक्सका अध्यक्ष अध्यक्ष मिङमा शेर्पाले सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका बताए । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्न लागेका उनको भनाइ छ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिनुभएका ५४ वर्षीय कामिरिताले यसवर्ष सफल आरोहण गरेमा आफ्नै कीर्तिमानी तोडिनेछ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए। पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन । ‘सगरमाथा आरोहणका लागि जाँदैछु, मेरो अरू उद्देश्य छैन’, कामिरिताले भने, ‘हिमाल आरोहणको पेसालाई निरन्तरता मात्र दिएको हुँ, म कीर्तिमानीका लागि सगरमाथा गएको हैन ।’

कामिरिताको आरोहण यात्रा

कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल भए । उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी पनि छ ।

कीर्तिमान जोगाउने चुनौती

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् ।

पर्यटन विभागका अनुसार वैशाख १७ गतेसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कूल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी सङ्कलन भएको छ । अघिल्लो वर्ष ४४ आरोही समूहका चार सय ७८ आरोहीले अनुमति लिएका थिए । जुन सङ्ख्या सगरमाथा आरोहण इतिहासकै सबैभन्दा बढी थियो ।

सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि.) सम्म बाटो खुलेको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने काम सकिएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने अनुमान गरिएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का आइसफल डाक्टरहरुले बाटो बनाउने गर्छन् । अघिल्लो वर्ष वैशाख ३० गतेबाट आरोहण सुरु भएको थियो ।

सम्बन्धित खबर