अमेरिकामा प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने राष्ट्रपति उम्मेदवारसहित सय विद्यार्थीहरु समातिए
- १९ बैशाख २०८१
- १ मिनेटको पढाई
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाझ प्रहरीले धरपकड गर्दा अमेरिकी राष्ट्रपति निर्वाचनकी एक प्रत्यासीसहित सयभन्दा बढी विद्यार्थी समातिएका छन्।
विश्वविद्यालयमा मंगलबार सयभन्दा बढी प्रहरी प्रवेश गरी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। त्यस क्रममा अमेरिकी राष्ट्रपति चुनावमा ग्रिन पार्टीका तर्फबाट प्रत्यासी बनेकी जिल स्टेन पनि पक्राउ परेकी छन्।
इजरायल विरोधी प्रदर्शनकारीहरूले सोमबार राति विश्वविद्यालयको भवन ह्यामिल्टन हललाई कब्जा गरेका थिए। न्यूयोर्क टाइम्सका अनुसार उनीहरूले विश्वविद्यालयको फर्निचर र भेन्डिङ मेसिनसहित भवनको गेट अवरुद्ध गरेका थिए। उनीहरुले उक्त भवनको झ्यालबाट प्यालेस्टाइनको झण्डा फहराउनुका साथै प्यालेस्टाइनको स्वतन्त्रताको लागि नारा समेत लगाएका थिए।
प्रदर्शनकारीहरूले विश्वविद्यालय भवनको नाम ह्यामिल्टनबाट ‘हिन्द हल’ राख्ने घोषणा गरेका थिए। इजरायली आक्रमणमा ज्यान गुमाएकी गाजामा बस्ने ६ वर्षीया बालिका हिन्द रजबको सम्मानमा प्रदर्शनकारीले उक्त हलको नाम हिन्द हल राखेका थिए। प्रदर्शनकारीहरु उग्र बन्दै गएपछि प्रशासनले प्रहरीलाई बोलाएको हो।