२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैन: ब्लिङ्केन

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैन: ब्लिङ्केन

वासिङ्टन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताएका छन् । यद्यपि हमासको गाजा–आधारित नेतृत्वको मनसाय अस्पष्ट रहेको उनले बताएका छन् ।

गाजा पट्टीलाई नियन्त्रण गरेको हमासले बन्धकहरूलाई मुक्त गरेको बदलामा इजराइलको आक्रमणलाई अस्थायीरूपमा रोक्ने इजिप्ट र कतारको मध्यस्थतामा लामो समयदेखि जारी वार्ता पुनः सुरु गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो फर्कने घोषणा गरेको छ ।

“वास्तवमा युद्धविराम र बन्धकहरूको रिहाइको जवाफमा उनीहरूले हुन्छ भन्न सक्छन् वा सक्दैनन् भन्नेबारेमा हामीले प्रतीक्षा गरिरहेका छौँ”, ब्लिङ्केनले भने, “अहिलेको वास्तविकता भनेको गाजाका जनता र युद्धविरामको बीचमा उभिएको एक मात्र चिज हमास हो ।”

लडाकूहरूले प्यालेस्टिनी जनताको ‘प्रतिनिधित्व गरेको दावीलाई’ ध्यानमा राख्दै ब्लिङ्केनले भने, “यदि यो सही हो भने युद्धविरामलाई ग्रहण गर्न कुनै सोचविचार गर्न जरुरी छैन, तर सम्भवतः अरु केही भइरहेको छ र आगामी दिनमा हामीसँग यसको राम्रो चित्र हुनेछ ।”

विदेशमन्त्री ब्लिङ्केनले हमाससँगको वार्तामा कठिनाइहरू औँल्याए । हमासलाई अमेरिकाले आतङ्कवादी समूह मान्छ र प्रत्यक्षरूपमा वार्तामा सामेल हुँदैन । हमासलाई इजराइलले समाप्त पार्ने वाचा गरेको छ ।

“कतारी र इजिप्टेलीमार्फत हामीसँग अप्रत्यक्षरूपमा संलग्न रहेका हमासका नेताहरू निश्चितरूपमा गाजाबाहिर बस्छन्”, ब्लिङ्केनले भने, “अन्तिम निर्णय लिनेहरू वास्तवमा गाजामा बस्छन् र उनीहरूसँग हामीमध्ये कसैको पनि प्रत्यक्ष सम्पर्क छैन ।”

ब्लिङ्केनले मध्यपूर्वको आफ्नो पछिल्लो भ्रमणमा इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र अन्य शीर्ष नेताहरूसँग भेट गरेको केही दिनपछि एरिजोनामा म्याक्केन इन्स्टिच्युटको सेडोना फोरमलाई सम्बोधन गर्दै गर्दैछन् ।

ब्लिङ्केनसँगको आफ्नो छलफलअघि नेतान्याहुले युद्धविराम वार्ताको नतिजालाई परवाह नगरी दक्षिणी गाजा सहर रफाहमा आक्रमण अगाडि बढाउने बाचा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इजराइललाई रफाहमा नजान बारम्बार चेतावनी दिएको छ । रफाहमा करिब १२ लाख प्यालेस्टिनीले आश्रय लिएका छन् ।

ब्लिङ्केनले इजराइलले अहिलेसम्म ‘हानिमा परेका नागरिकहरूको वास्तविक सुरक्षाका लागि विश्वसनीय योजना’ पेस गर्न नसकेको बताए। इजराइलले सैन्य र कूटनीतिक समर्थनका लागि अमेरिकामा भरोसा गर्छ । “यस्तो कुनै पनि योजनाको अभावमा हामी रफाहमा हुने ठूलो सैन्य अभियानको समर्थन गर्न सक्तैनौँ किनकी यसबाट हुने नोक्सान स्वीकार्यको सीमाभन्दा बाहिर छ”, उनले भने।

युद्धमा नागरिकहरूको मृत्युलाई लिएर विश्वव्यापी आलोचना बढेको छ भने बाइडेन प्रशासनमाथि पनि दबाब छ ।