न्युयोर्कको अल्बानीमा ‘नेपाली कम्युनिटी डे’ हुँदै
- २२ बैशाख २०८१
- १ मिनेटको पढाई
न्युयोर्क : न्युयोर्कको अल्बानीमा ‘नेपाली कम्युनिटी डे’ हुने भएको हो । मे ३ शुक्रबार(हिजो) पत्रकार सम्मेलन गरी मे २८ मंगलबार न्युयोर्कको अल्बानीमा ‘नेपाली कम्युनिटी डे’ हुने जानकारी गराएका हुन्।
पत्रकार सम्मेलन शेर्पा किदुगको कार्यालयको हलमा गरिएको थियो।
मुख्य प्रायोजन न्युयोर्क जिल्ला ३० का विधानसभा सदस्य माननीय स्टेभन रागाको कार्यालय र विधानसभा सदस्यद्वय माननीय जेनिफर राजकुमार र माननीय सराहना श्रेष्ठको कार्यालय सह-प्रायोजन तथा नेपाली संघ-संस्थाहरुको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
पत्रकार सम्मेलनमा रागाको कार्यालयकी समुदायिक मामिला निर्देशक फुर्सांग डोल्मा लामाले ‘नेपाली कम्युनिटी डे’ सबै नेपालीको साझा कार्यक्रम भएकोले यसलाई सफल बनाउन सबै एक हुनु पर्ने कुरा बताउँदै हातेमाले गर्न चाहने संघ संस्थाहरुलाई अनुरोध गरिन्।
हालसम्म आयोजक समितीमा रहेका संघ संस्थाहरुमा शेर्पा किदुग अमेरिका, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद न्युयोर्क च्याप्टर, गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टर, रिजवुड नेपाली समाज, माईनोरिटी ईम्पावरमेन्ट नेटवर्क र अल्बानी नेपाली समाज रहेका छन् ।
कार्यक्रममा नेपालको हिमाल पहाड र तराईको विविध भेषभुषा तथा सांस्कृतिक कार्यक्रम प्रदर्शनी रहने आयोजकले जनाएका छन् । साथै कार्यक्रममा सहभागी हुन अल्बानी आउने र जाने यातायातको सुबिधा पनि रहेको जनाउँदै आरएसभिपी मार्फत आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेका छन्।
पत्रकार सम्मेलनमा न्युयोर्क राज्य विधानसभा सदस्यहरु स्टेभन रागा र जेनिफ़र राजकुमार सहित रागाको कार्यालयकी समुदायिक मामिला निर्देशक फुर्सांग डोल्मा लामा र माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रीया तुलाधर, ग़ैर आवासीय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, रिजवुड नेपाली समाजका पदाधिकारी अमित साह, शेर्पा किदुग अमेरिकाका अध्यक्ष तेम्बा शेर्पा र गिरिजा प्रसाद कोईराला फ़ाऊण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेलगायत वरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो।