६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

प्रवासी नेपालीलाई मतदानको अधिकार दिने कुनै आधार नै देखिएन : डा.सिके राउत

प्रवासी नेपालीलाई मतदानको अधिकार  दिने कुनै आधार नै देखिएन : डा.सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी निर्वाचनमा प्रवासी नेपालीहरूले मतदान गर्न सक्ने कुनै पनि विश्वासिलो आधार नदेखिएको संकेत गरेका छन् । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै राउतले प्रवासी नेपालीले आगामी निर्वाचनमा मतदान गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेमा त्यसको कुनै विश्वसनीय आधार नदेखिएको बताएका हुन् ।

पासपोर्ट नवीकरण गर्न महिनौ कुर्नुपर्ने अहिलेको अवस्थामा प्रवासी नेपालीहरूले विदेशबाट मतदान गर्न पाउँछन् भन्ने कुरा विश्वसनीय आधार नरहेको उनको भनाइ छ । अन्तिम समयमा पुनः सरकारले प्राविधिक तयारी नपुगेको भन्दै प्रवासी नेपालीहरूलाई मतदानको अधिकारबाट वञ्चित गरेको स्पष्ट संकेत देखिएको बताएका थिए । उनले प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन अहिलेदेखि नै तयारीमा लाग्न परराष्ट्रमन्त्रीलाई आग्रह समेत गरे ।

प्रवासी नेपालीहरूको “पैसा चल्ने तर भोट नचल्ने” अवस्था अझै पनि देखिएको छ उनले भने ’ हरेक देशका नेपाली दूतावाससँग सो देशमा भएका नेपाली कामदारको विवरण नरहेको बुझिएको उल्लेख गर्दै अधिकांश दूतावासमा कर्मचारीको अभाव समेत रहेको भन्दै परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

राहदानी नवीकरण गर्न समेत ४–५ महिना कुर्नुपर्ने, पटक–पटक दूतावास धाउनुपर्ने, ठुलो रकम खर्च हुने, कतिपय ठाउँमा त आफ्नो एक महिनाको तलब नै मजदुरहरूले खर्चिनुपर्ने, दूतावासका कर्मचारीहरूलाई पैसा खुवाउनुपर्ने जस्ता समस्याहरू देखापरेको मन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उनले जनमत पार्टीसम्बद्ध प्रवासी जनमत सघं र गैरआवासीय मधेसी सघंलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगहरूलाई सर्कुलर जारी गर्न पनि परराष्ट्रमन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् ।