९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

न्यूयोर्कमा मनाइयो २५६८औँ बुद्ध जयन्ती

न्यूयोर्कमा मनाइयो २५६८औँ बुद्ध जयन्ती

सन्त रिसाल

न्युयोर्क : अमेरिकाको न्यूयोर्कमा २५६८औँ बुद्ध जयन्ती भव्य रुपमा मनाइएको छ। हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल इन युएसए, नेवा: गुठी न्यूयोर्क र युनाइटेड शेर्पा एसोसिएसनले संयुक्त रुपमा बुद्ध जयन्ती मनाएका हुन्।

दुईवटा खटमा भगवान् गौतम बुद्धको मूर्ति राखेर शेर्पा किदुगबाट निकालिएको शोभायात्राले ज्याक्सन हाइट नगर परिक्रमा गरेको थियो। शेर्पाहरुको विशेष बाजा बजाएर निकालिएको उक्त नेपाली शैलीको कलात्मक खट एउटालाई चार जनाले बोकेका थिए। उक्त शोभायात्रा हेर्न सडक किनारामा ठूलो सङ्खयामा जनसमुदायको भीड लागेको थियो।

बुद्ध नेपालमा जन्मेका हुन्, आज उनको २५६८ औँ जन्मदिन हो भनी विदेशीलाई जानकारी गराइएको थियो भने कयौँ विदेशीले बुद्धबारे जिज्ञासा राखेका थिए। नगर परिक्रमापछि ज्याक्सन हाइटस्थित ड्राइभर सिटी प्लाजास्थित पार्कमा बनाइएको सभास्थलमा पुग्दा हजारौँले बुद्धको मूर्ति दर्शन गरेका थिए। बुद्धको प्रतिमामा डाक्टर(भन्ते) युला शेर्पा, शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पा र हिमालयन बुद्धिष्टका अध्यक्ष हृदय तुलाधरले जल चढाएपछि भक्तजनहरुले पनि जल चढाई प्रार्थना गरेका थिए।

त्यस अवसरमा डाक्टर युला शेर्पाले भगवान बुद्धको ज्ञानबारे प्रवचन दिएका थिए। प्राध्यापक मीमलाल नकर्मीले बुद्धको पञ्चशीलबारे बोलेका थिए। कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले नेवा:गुठी न्यूयोर्कसित यसरी सहकार्य गरी कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। हिमालयनका अध्यक्ष हृदय तुलाधारले पनि यसरी सबैको सहयोगबाट कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद दिएका थिए। उक्त कार्यक्रममा कम्युनिटीका वीरेन्द्र मानन्धरले स्वागत भाषण गरेका थिए। सुवर्णकुमार शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए।