‘मिस नेपाल नर्थ अमेरिका’ २०२४ को लागि एक हप्ता आवेदन समय थपियो
- २० जेष्ठ २०८१
- २ मिनेटको पढाई
न्यूयोर्क : ‘मिस नेपाल नर्थ अमेरिका’ २०२४ को लागि आवेदन दिन चाहनेहरुका लागि एक हप्ताको समय थप गरिएको छ। फेब्रुअरी ३ ,२०२४ देखि सुरु भएको आवेदन बुझाउने अन्तिम मे ३१ ,२०२४ सम्म तय गरिएको थियो ।
मे ३१ बाट आवेद दिने समय सकिएपछि थप एक हप्ता अर्थात जुन ७,२०२४ सम्म लागि समय थप गरिएको हो ।
मिस नेपाल नर्थ अमेरिका हरेक वर्ष अगस्त महिनामा हुदै आएको छ । यस वर्ष पनि अगस्त ३ शनिबार न्यूयोर्कको मेलरोज बलरुममा यसको ग्रान्ड फिनाले हुनेछ ।
अघिल्लो वर्ष अर्थात २०२३ मा मिस नेपाल नर्थ अमेरिकाको उपाधी जित्न जुबली शेर्पा सफल भएकी थिइन् । प्रतियोगितामा द्वीतीय रजिला बास्तोला र तृतीय ईशा सुवेदी भएकी थिइन् । प्रतियोगितामा १८ प्रतिस्पर्धी सहभागी भएका थिए।
मिस नेपाल नर्थ अमेरिका ड्रिम्स युनिभर्सल एलएलसी, संयुक्त राज्य अमेरिका द्वारा संचालित वार्षिक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो।
मिस नेपाल नर्थ अमेरिकामा बस्ने नेपाली मूलका केटीहरूको सौन्दर्य प्रतियोगिता हो । यो २०१७ बाट सुरु भएको हो। प्रतियोगिताको उद्देश्य संयुक्त राज्य अमेरिकामा नेपाली मूलका प्रतिभाशाली, सांस्कृतिक र बौद्धिक युवतीहरूलाई सम्मान र पहिचान गर्नु र उनीहरूलाई कला, शालीनता झल्काउने प्रतियोगिता मार्फत उनीहरूको अद्वितीय प्रतिभा र जोश प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्नु भएको आयोजकले बताएका छन्। नेपाली मूलका अमेरिकी सेलेस श्रेष्ठले प्रतियोगिताको स्थापना गरेका हुन् ।
यसको मुख्य उद्देश्य नेपाली कला, संस्कृति, फेसनको प्रवर्द्धन र ग्ल्यामर क्षेत्रको अन्तर्राष्ट्रिय क्षेत्रमा युवाहरूलाई प्रोत्साहित गर्नु भएको उनले बताए। ‘प्रमोटिङ युथ, प्रमोटिङ नेपाल’ भन्ने नाराका साथ कार्यक्रमले सबै सहभागीहरूलाई आफ्नो व्यक्तिगत, व्यावसायिक र परोपकारी लक्ष्यहरू हासिल गर्न मञ्चको रूपमा काम गर्ने उनको भनाइ छ। मोनिका घले पहिलो मिस नेपाल उत्तर अमेरिका भएकी थिइन्।
मिस नेपाल नर्थ अमेरिकाको प्रतियोगिता भर्चुअल प्रकृतिको कार्यक्रम हो । प्रतियोगीहरूले आफ्नो प्रोफाइल अनलाइन पेश गर्नुपर्नेछ, र जजहरूको प्यानलले विजेता चयन गर्नेछ। विजेताहरूलाई एक औपचारिक कार्यक्रममा स्वागत गरिन्छ। प्रतियोगी नेपाली मूलको, संयुक्त राज्य अमेरिकामा बस्ने, अविवाहित (कहिल्यै विवाह नगरेको) र २८ वर्षसम्मको हुनुपर्ने नियम रहेको छ।