९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

अमेरिका र युरोपेली देशको नजिकै मिसाइल तैनाथ गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

अमेरिका र युरोपेली देशको नजिकै मिसाइल तैनाथ गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब अमेरिका र युरोपेली देशहरूको नजिकै मिसाइल तैनाथ गर्ने चेतावनी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका सम्पादकहरूको छलफलका क्रममा रुसी राष्ट्रपति पुटिनले यदि अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई दिएका हतियारबाट रुसी भूमिमा आक्रमण भएमा अवस्था भयावह हुन सक्ने चेतावनी दिनुभएको हो । उहाँले युक्रेनलाई प्रयोग गरेर अमेरिका र युरोपेली देशहरूले रुसमा आक्रमण गर्ने योजना बनाएको भन्दै ती देशको नजिकै अन्तर महादेशीय आणविक मिसाइल तैनाथ गर्ने चेतावनी दिनुभएको रोयटर्सले जनाएको छ ।

रुसले कहिल्यै आणविक हतियारको प्रयोग गर्दैन भन्ने भ्रममा नबस्न पनि पुटिनले पश्चिमा देशहरूलाई चेतावनी दिनुभएको छ ।

केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूहरूले दिएको केही हतियार प्रयोग गरेर युक्रेनले रुसमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको थियो । यस्तै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई रुसी भू–भागमा आक्रमण गर्न पश्चिमी हतियार प्रयोगको अनुमति दिन सकिने बताउनुभएको थियो । तर यस्तो भएमा रुस चुप लागेर नबस्ने र पश्चिमा देशहरूले ठूलो मूल्य चुकाउनुपर्ने पुटिनको चेतावनी छ ।

कसैले रुसको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता खतरामा पार्ने कोशिश गर्छ भने रुसले आणविक हतियार प्रयोग गर्ने सम्भावना जहिले पनि जीवितै रहेको पुटिनले चेतावनी दिनुभएको छ ।