९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

अमेरिकी सांसदका उम्मेदवार एड्रियन पोखरेलको लोकप्रियता बढ्दै, बन्दुक हिंसा कम गर्ने अभियानमा सक्रिय

अमेरिकी सांसदका उम्मेदवार एड्रियन पोखरेलको लोकप्रियता बढ्दै, बन्दुक हिंसा कम गर्ने अभियानमा सक्रिय

न्यूयोर्क : अमेरिकी संसदको निर्वाचनमा उम्मेदवार बनेका नेपाली मूलका एड्रियन पोखरेलको अहिले आफ्नो क्षेत्रमा लोकप्रियता बढ्दै गएको देखिन्छ। उनको लोकप्रियता बढ्नुको कारण उनले लिएका चुनावी एजेन्डा तथा हिंसा कम गर्ने नीति हो।

पोखरेल पछिल्लो समय अमेरिकामा दिनानुदिन बढ्दै गएको बन्दुक हिंसा कम गर्ने अभियानमा सक्रिय भएका छन्। उनले बन्दुक संस्कृति हटाउन कानुनी आधारबाटै आफूसँग भएका बन्दुक स्थानीय प्रहरीमा बुझाएका छन्। उनको यो कार्यपछि उनको चर्चा अझै बढेको देखिन्छ।

सुनसरीको धरानमा जन्मिएका एड्रियन आशिष पोखरेल अमेरिकी राष्ट्रपति जो बाइडेनको पार्टी डेमोक्रेटिकको तर्फबाट भर्जिनिया राज्यको १० औं निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार बनेका छन्। उम्मेदवारी दिएसँगै उनी आफ्नो क्षेत्रको हितका लागि काम गर्न लागि परेका देख्न सकिन्छ।

उनले धेरै समाज सुधारक चुनावी एजेन्डाहरु अगाडि बढाएका छन्। पोखरेलले अमेरिकामा बढ्दो बन्दुक संस्कृतिलाई हटाउने कुरालाई प्राथमिकतामा राखेको कार्य भने नेपाली मूलका अमेरिकीका साथै अमेरिकी रैथानेहरुमा पनि लोकप्रिय बनेको छ।

पोखरेलले अमेरिकी सेनामा १४ वर्ष काम गरेका छन्। उनी अमेरिकाको आर्मी भेट्रान हुन्। आर्मीका क्याप्टेन भएर अवकाश पाएका उनले अमेरिकाको गुप्तचर एजेन्सी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआइए) मा ६ वर्षसम्म काम गरेका छन्। सीआइएमा काम गर्ने उनी पहिलो नेपालीमूलका मानिस पनि बनेका छन्।

अमेरिकी नियमअनुसार अवकाशप्राप्त सैनिक र गुप्तचर अधिकारीले अमेरिकामा केही बन्दुकहरु राख्न पाउँछन्। सोही कानूनअनुसार पोखरेलको पनि बन्दुक राख्ने अधिकार हुन्छ। तर आफूसँग भएका बन्दुकहरु पोखरेलले स्थानीय प्रहरीमा बुझाएका हुन् ।

अमेरिकामा पछिल्लो समय बन्दुकसँग सम्बन्धित घटनाहरु बढेकोमा उनी चिन्तित थिए। सबैले सामान्य तरिकाले बन्दुक लिएर हिंड्ने र सा-साना विवादमा पनि गोली चलाएर दिनैपिच्छे धेरैले ज्यान गुमाउने गरेका छन्। सामान्य बन्दै गरेको बन्दुक संस्कृति हटाएर आफूले अभियान सुरु गरेको उनले जनाएका छन्।

उनको चुनावी अभियानको प्रमुख एजेन्डाहरुमा बन्दुकजन्य घटना कम गर्नु मात्र नभइ अन्य धेरै राम्रा कामहरु रहेका छन्। उनको एजेन्डाहरुमा रोजगारी सिर्जना, मानसिक स्वास्थ्य सेवा सुधार, स्वास्थ्य सेवामा लागत कम गर्ने, महिलाको प्रजनन अधिकार सुरक्षित, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालगायत रहेको छ।

धरानमा जन्मिएका पोखरेलले विद्यालय शिक्षा धरानको शिक्षा सदन माविबाट लिएका थिए। उच्च शिक्षा उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट हासिल गरे। त्यसपछि थप अध्ययन गर्न पोखरेल अमेरिका गएका हुन् । उनले अमेरिकाको ह्युस्टन विश्वविद्यालयको जेसिन्टो कम्युनिटी कलेज टेक्सासबाट बिजनेस एडमिनिस्ट्रेसन र फाइनान्समा स्नातक गरे। साथै उनले अमेरिकन मिलिट्री युनिभर्सिटीबाट इन्टेलिजेन्स स्टडिजमा मास्टर्स डिग्री गरे भने नेशनल अमेरिकन युनिभर्सिटीबाट रणनीतिक सुरक्षामा विद्यावारिधी (पीएचडी) गरे।

पोखरेल सैन्य खुफिया प्रबन्धन, नेतृत्व, साइबर, नेटवर्क प्रशासन, सुरक्षा विशेषज्ञ हुनुका साथै इथिकल ह्याकर पनि हुन् । उनको अध्ययनको क्षेत्र व्यवसाय प्रशासन, वित्त, खुफिया अध्ययन र रणनीतिक सुरक्षा रहेको छ।