२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

आइसीसीले भन्यो: न्यूयोर्कको स्टेडियमको पिच सुधारको काम हुँदैछ

आइसीसीले भन्यो: न्यूयोर्कको स्टेडियमको पिच सुधारको काम हुँदैछ

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले जारी टी-२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको स्वीकार गरेको छ।

पिचबारे आलोचना भएपछि आइसीसीले स्पष्ट पार्दै न्यूयोर्कको यो पिच चाहेजस्तो नभएको उल्लेख गर्दै आउँदा खेलमा यस पिचलाई उत्कृष्ट बनाउने बताएको छ।

भारत र आयरल्याण्डले आफ्नो समूह खेल अत्यन्तै कठिन विकेटमा खेलेको एक दिनपछि आइसीसीले भनेको छ, ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म प्रयोग गरिएका पिचहरू हामीले सबैले चाहेजस्तो भएको छैन। विश्व-स्तरीय टिमले भारत-आयरल्याण्डको खेल समाप्त भएदेखि नै परिस्थितिलाई समाधान गर्न र बाँकी खेलहरूको लागि उत्कृष्ट सम्भव पिच बनाउन कडा मेहनत गरिरहेका छन्।’

यसै पीचमा भारतले आयरल्याण्डलाई ९६ रनमा अलआउट गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई ७७ रनमा अलआउट गरेको थियो। यी खेलका नतिजापछि क्रिकेट विज्ञले यस मैदानका बीच टी-२० खेलका लागि उपयुक्त नभएको भन्दै आलोचना गरिरहेका छन्।

यसै मैदानमा आगामी आइतबार भारत र पाकिस्तानबीचको खेलसहित समूह चरणका ६ खेल हुँदै छन्।