अमेरिकाले इजराइललाई सोध्यो, विद्यालयमा आक्रमण किन गरेको ?
- २५ जेष्ठ २०८१
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकाले गाजास्थित विद्यालयमा गरेको आक्रमणबारे प्रष्ट पार्न इजरायललाई दबाब दिएको छ।
इजरायलले हिजो गाजामा रहेको संयुक्त राष्ट्रसंघीय विद्यालयमा गरेको आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो। आक्रमण कसरी भयो र यसमा कसको त्रुटि थियो भन्नेबारे प्रष्ट पार्न अमेरिकाले इजरायलाई दबाब दिएको बीबीसीले जनाएको छ।
सञ्चारकर्मीका अनुसार नुसेरातस्थित शहरी शरणार्थी शिविरसहितको विद्यालयमा इजरायली मिसाइल आक्रमण भएको थियो। इजरायलले भने यसअघि हमासको आश्रयस्थलमा आक्रमण भएको दाबी गरेको थियो। अमेरिकाले हमासमाथिको आक्रमण भए उनीहरुको पहिचान सार्वजनिक गर्न इजरायलाई चेतावनी दिएको छ।
इजरायलले आक्रमणमा मारिएका मध्ये ९ जनाको नाम सार्वजनिक गर्दै उनीहरू हमास लडाकु भएको दाबी गरेको थियो । तर अमेरिकाले पहिलोपटक मारिएका सबै हमास लडाकू भए उनीहरूको नाम सार्वजनिक गर्न चेतावनी दिएको बीबीसीले जनाएको छ।
गाजामा युद्धविराम गर्न आग्रह गर्दै आएको अमेरिका पछिल्लोपटक इजरायलप्रति आक्रोशित देखिएको समाचारमा जनाइएको छ।