युक्रेनलाई सघाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता
- २६ जेष्ठ २०८१
- १ मिनेटको पढाई
वासिङ्टन डीसी- मेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीसँग आज भएको द्विपक्षीय बैठकमा युक्रेनका लागि नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
“हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ”, बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भने ।
अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको कुरामा जोड दिए। “सहायताको सन्दर्भमा के पारित हुन गइरहेको छ भन्ने थाहा नदिएकोमा म क्षमाप्राथी छु, हाम्रा केही रूढीवादी सदस्यबाट पारित गर्नुपर्ने विधेयक प्राप्त गर्न गाह्रो भइरहको थियो”, उनले भने ।
बाइडेनले शुक्रबारको सहायतासम्बन्धी घोषणाका साथ युक्रेनलाई थप सहायताबारे पनि घोषणा गरेको सिएनएनले जनाएको छ ।
“अप्रिलमा सम्झौता भएदेखी मैले महत्त्वपूर्ण सहायता कोषका छ वटा प्याकेज घोषणा गरेको छु । आज म विद्युतीय ग्रिडको पुनःनिर्माण गर्न मद्दत गर्न २२ करोड ५० लाख अमेरिकी डलरको अतिरिक्त प्याकेजमा पनि हस्ताक्षर गर्दैछु”, अमेरिकी राष्ट्रपति बाइडेनले भने ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला र समावेशी संवादको आवश्यकतामाथि जोड दिँदै उनले विश्व एकताबद्ध हुन र “पूर्ण सद्भाव”मा काम गर्न सक्षम हुनुपर्ने बताए।