अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने
- २७ जेष्ठ २०८१
- २ मिनेटको पढाई
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ ।
आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।
“बैठक व्यवस्थापनका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ”, अर्थमन्त्री पुनको सचिवालयले भनेको छ ।
बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने आयोजकले जनाएको छ । उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक सञ्चालन हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन रहने तय भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि बैठकमा वक्ताका रुपमा सहभागी हुनुहुनेछ ।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बङ्गा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्गलगायत उच्चपदस्थ अधिकारीहरु नेपाल आउने जनाइएको छ ।
सहसचिव नेपालका अनुसार विश्व बैंकका दाता करिब ६० र साझेदार ९० भन्दाबढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुनेछन् । सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।
आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ ।
यसपटकको बैठकका प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।
आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड-१९ महामारीको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग गर्ने घोषणा गरेको थियो ।
विश्वबैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र छ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।