१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

राष्ट्रपति पौडेल स्विट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

राष्ट्रपति पौडेल स्विट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्याण्डको जेनेभा जाँदै छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले यही ३१ जेठमा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही ३० जेठमा स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ ।

भ्रमणपछि राष्ट्रपति पौडेल आगामी १ असारमा जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । उनले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेलले ३ असारमा जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आइएलओको सम्मेलनमा मुख्य वक्ताका रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्र सङ्घले सामाजिक न्यायको कार्यसूचीलाई हाम्रो संविधान र सङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्णरूपले आत्मसात् गरेको विषयलाई अन्तर्राष्ट्रियजगतमा स्थापित गरेको रुपमा बुझ्नुपर्ने बताए ।

‘लामो समयपछि हाम्रो राष्ट्र प्रमुखको युरोपका महत्वपूर्ण मुलुकका राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता हुँदैछ, यसले हाम्रो मुख्य सहयोगी साझेदार मुलुकहरू जर्मनी र स्विट्जरल्याण्डको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।

जर्मनी र स्विट्जरल्याण्डका राष्ट्र प्रमुखसँगको द्विपक्षीय भेटवार्ताले नेपालको आर्थिक विकासमा थप अभिवृद्धि गर्न अवसरको नयाँ बाटो खुल्ने प्रेस सल्लाहकार पोखरेल बताउँछन् । नेपालको संविधान र व्यवस्थाले आइएलओले सामाजिक न्यायका पक्षमा उठाउँदै आएका विषयलाई हाम्रो व्यवस्थाले आत्मसात् गरेको भनेर नै राष्ट्रपति पौडेललाई आफ्ना अनुभव आदानप्रदान गर्न मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको हो ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहने छिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, स्विट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहनेछन् ।