मोदीमा बेलायती शासकको झल्को
- ३० जेष्ठ २०८१
- ४ मिनेटको पढाई
बी.के. नेवा, न्युयोर्क
न्युयोर्क- दक्षिण एसियाको ठूलो र शक्तिशाली मुलुक भारतमा नरेन्द्र मोदीले तेस्रो प्रधानमन्त्री काल सुरु गरेका छन्। पहिलो र दोस्रो कार्यकालमा उनको पार्टी भारतीय जनता पार्टी(भाजपा)को एकल बहुमत भएका कारण उनलाई जे गर्न पनि छुट थियो। मानिसहरू यसलाई भाजपा सरकार नभनेर मोदी सरकार भन्थे। मोदीका अगाडि सबै नतमस्तक थिए। उनको विरोध र आलोचना गर्ने हिम्मत कसैले गर्दैनथे।
तर अहिले परिस्थिति बदलिएको छ। भाजपाले चुनावमा बहुमत गुमाएकाले उनले गठबन्धनको सहयोगले भारतमा तेस्रो कार्यकाल सुरु गरेका हुन्। अहिले उनको राजनीतिक अवस्था कमजोर छ। नितिशकुमार र चन्द्रबाबु नायडु नेतृत्वका साना दलको सहयोगमा सरकार बनाएका मोदीलाई कुनै पनि बेला अप्ठेरो पर्न सक्छ किनभने नितिशकुमार र चन्द्रबाबु अस्थिर स्वभावका नेता हुन्। उनीहरूले हात झिकिदिनासाथ मोदीको सरकार ढल्छ। त्यसैले मोदीले अब उनीहरूलाई रिझाएर फुर्ती नगरी मिलेर काम गर्नुपर्छ नत्र उनको सरकार धरापमा पर्ने निश्चित छ।
तर पनि पार्टीले चुनावमा बहुमत गुमाउँदा पनि मोदीमा दम्भ भने घटेको देखिएन। तेस्रो कार्यकाल सुरु गर्दाको शपथ ग्रहण समारोहमा उनले वरिपरिका छिमेकी देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूलाई बोलाएर आफू ‘ठूलो नेता हूँ’ भन्ने सान देखाए। यसलाई कतिपयले ब्रिटिश औपनिवेशिक शासनको झल्को भनी टिप्पणी गरेका छन्। औपनिवेशिक कालमा ब्रिटिश शासकले पनि यस्ता समारोहमा छिमेकीहरूलाई बोलाएर आफू सर्वेसर्वा भएको देखाउँथे। जुन झल्को अहिले मोदीमा पनि छर्लङग देखियो। तर अरु छिमेकीलाई बोलाए पनि पाकिस्तानलाई भने बोलाएनन्। पाकिस्तानसँग भने दुस्मनी झन् झागिँदै छ।
पहिलो र दोस्रो कार्यकाल एकलौटी गरेका मोदीमा यस पटक निकै ठूलो महत्वाकाङ्क्षा र दम्भ थियो। चुनावमा भाजपा एक्लैले ३७० र भाजपा गठबन्धनले चार सय सिट पार गर्ने नारा दिँदै उनी चुनावमा होमिएका थिए। विपक्षी पत्तासाफ हुने र चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा मोदी ढुक्क थिए। तर परिणाम नसोकेको आयो। भारतीय मतदाताहरूले सबैलाई आआफ्नो हैसियतमा बस्न पाठ सिकाई छाडे।
मोदीले अयोध्यामा बाबरी मस्जिदको ठाउँमा राममन्दिर बनाएपछि भाजपाका कार्यकर्ताले उनलाई भगवान् नै मान्न थालेका थिए। यो मन्दिर बनाएका कारण सबै हिन्दुमत आफ्नो पक्षमा आउने ठोकुवा गर्दै भाजपाका नेता तथा कार्यकर्ताले अयोध्यामा चुनावी प्रचारप्रसार समेत गरेनन्। मतदाताले बदला लिए। अध्योध्यामा भाजपाले नराम्ररी हार खायो। मोदीलाई देवत्वकरण गर्ने गल्तीले भाजपालाई यस पटकको चुनावमा ठूलो क्षति हुन पुग्यो।
भारतको लोकसभा ५४५ सदस्यीय छ। ५४३ सिटमा चुनाव हुन्छ भने दुई सिटमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ। बहुमतको सरकार बनाउन २७२ सिट जित्नुपर्छ। यस पटक कसैले पनि बहुमत ल्याउन सकेनन्। सत्तारुढ भाजपाले मात्र २४० सिट जित्यो। भाजपा गठबन्धनले २९३ सिट ल्याएका कारण त्रिशंकु संसद्मा मोदीले कमजोर गठबन्धनको सरकार बनाएका हुन्।
मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेर जवाहरलाल नेहरूपछिको पहिलो नेता बने पनि नेहरूजस्तै शक्तिशाली भने हुन् सकेनन्। राष्ट्रिय कङ्ग्रेसकातर्फबाट एकल बहुमत ल्याएर नेहरू सन् १९५२, १९५७ र १९६२ गरी लगातार तीन पटक प्रधानमन्त्री बनेका थिए।
यस पटकको निर्वाचन परिणाम यस्तो आउला भनी न सत्ता पक्ष न त प्रतिपक्षले सोचेका थिए। विगतका दुई कार्यकालमा भारतको राजनीतिमा प्रधानमन्त्री मोदीको दबदबा थियो। भारतीय सञ्चार माध्यम पनि मोदीकै पक्षमा थियो।
अर्कोतर्फ प्रमुख प्रतिपक्षी राष्ट्रिय कङ्गे्रस नेतृत्वको गठबन्धन ‘इन्डिया’ले मोदीको दबदबालाई अङ्कुश लगाउन सकिन्छ कि भन्ने झिनो आशासहित चुनावी मैदानमा होमिएको थियो। कङ्ग्रेस र गठबन्धन इन्डियाले यतिधेरै सिटमा जनताले जिताउलान् भन्ने सोचेका थिएनन्। सत्ता पक्षा र प्रतिपक्ष दुवैले सोचेभन्दा फरक खालको चुनावी परिणाम आएपछि भारतको राजनीति तरङ्गित भएको छ। यसअघिको चुनावमा ५० सिटमात्र जितेको प्रमुख प्रतिपक्ष कङ्ग्रेसले सोचेभन्दा बढी ९९ सिट जित्यो भने कङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धन इन्डियाले २३२ सिट जितेर बलियो प्रतिपक्ष बन्यो। अन्य केही साना दल र स्वतन्त्रले १७ वटा सिट जिते।
मतदाताले मोदीको घमण्ड तोडिदिँदै उनलाई बिहारका नेता नितिशकुमारको जनता दल युनाइटेड तथा आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीमाथि निर्भर रहनुपर्ने स्थितिमा पुर्याइदिए। मोदीलाई तेलुगु देशम पार्टीको १६ सिट, जनता दल युनाइटेडको १२ सिट, शिवसेनाका सात सिट र चिराग पासवानका पाँच सिटका अतिरिक्त साना दलहरूका थप २३ सिटले तेस्रो पटक प्रधानमन्त्री बन्न सहयोग पुर्याएको छ। यी साना दल कतिबेला कता जाने हुन भन्ने विश्वास छैन। भोलि नयाँ अवसर आयो भने कित्ता परिवर्तन गर्न बेर छैन। मोदीले आफ्नै पाराले सरकार चलाउन थाले भने उनीहरूले कुनै पनि बेला कित्ता परिवर्तन गर्न सक्छन्। त्यसैले मोदीले उनीहरूका सबैखाले माग सम्बोधन गर्नु नै पर्छ नत्र सरकार ढल्छ।
मोदीले गठबन्धनको मागलाई सम्बोधन गर्दै विगतका कमी कमजोरीबाट पाठ सिकेर देश र जनतको पक्षमा काम गरी पाँच वर्ष सरकार चलाउनसक्ने हो भने भारत यस कार्यकालमा भारतको अर्थतन्त्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नसक्छ। मोदीले अबको ध्यान उत्पादन बढाउने, महँगी घटाउने, बेरोजगारी समस्या समाधान गर्न रोजगारीका अवसर सिर्जना गर्नमा केन्द्रित गर्नुपर्ने देखिएको छ।
कोभिड महामारीसँगै भारतका आम जनता महँगी र बेरोजगारीको मारमा परे। यो समस्याको सूक्ष्म विश्लेषण गर्न र समस्या समाधान गर्न मोदी सरकार चुक्यो। महँगीको मार र बेरोजगारी समास्याको समाधान नभएको त्यही जनआव्रmोश चुनावमा पोखियो। भारतीय मतदाताहरूले चुनावमा भाग लिएका सबै दल तथा स्वतन्त्र उम्मेदवारलाई राम्रो पाठ सिकाए। यो चुनावी जनादेश भनेको अतिवाद, उग्रवाद र सङ्कीर्णवादविरुद्धको सन्देश पनि हो। म नै सर्वेसर्वा हुँ भन्ने महत्वाकाङ्क्षालाई दण्डित गरेको यो चुनावी परिणामबाट सत्ता पक्ष र प्रतिपक्ष दुवैले पाठ सिकेर विगतका कमी कमजोरी सच्याएर सहज ढङ्गले मुलुक चलाउनुपर्छ।
एक अर्ब ४४ करोड जनसङ्ख्यामध्ये करिब ९७ करोड मतदाता रहेको भारतका २८ राज्य र आठ केन्द्र शासित क्षेत्रमा चुनाव गराउन कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक गरी डेढ करोडभन्दा बढी जनशक्ति खटिएका थिए।
मोदी सन् २०१४ मा प्रधानमन्त्री भएयता कहिल्यै कमजोर थिएनन्। सन् २०१९ को लोकसभा चुनावले उनको लोकप्रियता अझै बढायो। केही विदेशी मिडियाले मोदीको कार्यशैलीप्रति प्रश्न उठाउँदै समाचार र टिप्पणी लेखे पनि भारतीय मिडिया जगत् मोदीका अगाडि नकारात्मक बनेन। मोदीमाथि प्रश्न उठाउने वा उनको आलोचना गर्ने साहस भारतका मिडियाले गरेनन्। तर यस पटकको चुनावी परिणामले भने मोदी स्वयंलाई सच्चिनुपर्ने अवस्थामा पुर्याएको छ।
गुजरातको सामान्य परिवारमा जन्मिएका मोदी युवा अवस्थाबाटै राष्ट्रिय स्वयं सेवक सङ्घ (आरएसएस)मा लागे। उनलाई प्रधानमन्त्रीको कुर्सी दिलाउनेमा पनि आरएसएसकै हस्तक्षेपकारी भूमिकाले काम गरेको थियो। सन् १९८७ मा भाजपा आबद्ध मोदी भाजपामा जोडिएको १३ वर्षमै गुजरातको मुख्यमन्त्री बने। सन् २००१ देखि सन् २०१४ सम्म गुजरातको मुख्यमन्त्री भएयता उनी सत्ता र शक्तिबाट टाढा हुनुपरेको छैन। उनले सन् २०१४ मा देशको प्रधानमन्त्री बने। पहिलो कार्यकालमा राम्रो काम गरेपछि सन् २०१९ मा दोस्रो पटक प्रधानमन्त्री बने दोस्रो कार्यकालमा ठूला सपना बाँडे पनि मतदाताका पक्षमा ससाना काम पनि गर्न सकेनन् जसले गर्दा कमजोर अवस्थामा पुगेर गठबन्धनको सहयोगमा तेस्रो पटक प्रधानमन्त्री बने। उनले यस पटक भने विगतभन्दा नयाँ ढङ्गले काम गर्नुपर्ने छ। आफूसँग सहज बहुमत नभएपछि प्रधानमन्त्रीले चाहेजस्तो सबै कुरा सहज हुँदैन। गठबन्धनको सरकारमा जे पनि एक्लै गर्ने तरिका सजिलो हुँदैन। अब नयाँ भारतसँगै नयाँ मोदीको रूप पनि देखिनुपर्छ।
भारतीय नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई सफल कार्यकालको शुभाकामना!
ताजा खबर
ट्रेन्डिङ
सम्बन्धित खबर
छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट
- ३० कार्तिक २०८१
- ५ मिनेटको पढाई
दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो
- १८ अशोज २०८१
- ५ मिनेटको पढाई
ह्याप्पी तीज
- २३ भदौ २०८१
- ३ मिनेटको पढाई
भ्रष्टाचारी सरकारविरुद्ध आक्रोशित युवा
- १४ भदौ २०८१
- ४ मिनेटको पढाई