मल बनाउँदै खेती गर्छन् विद्यार्थी
- ३० जेष्ठ २०८१
- १ मिनेटको पढाई
गलकोट (बागलुङ) : बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन् ।
प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन् । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा विसं २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो । उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ ।
प्राङ्गारिक मल उत्पादन गर्ने जिम्मा कक्षा ९ लाई दिइएको छ । किबीको हेरचाह गर्ने जिम्मा १० कक्षालाई छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले गत वर्ष च्याउसमेत उत्पादन गरेका थिए ।
कक्षा ९ का विद्यार्थीले विद्यालय परिसरमा मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । अहिले सिमी लगाइएको छ । वार्षिक दुई सय केजीसम्म किबी बिक्री हुने गरे पनि अन्य किबी विद्यार्थी र शिक्षकले उपभोग गर्दै आइरहेका छन् । विद्यालयको कृषि कर्मले घरमासमेत परिवारलाई सघाउन सहयोग पुगेको विद्यार्थीहरु बताउँछन ।
विसं २०३६ मा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ७८ विद्यार्थी अध्ययनरत छन् ।