९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

अस्ट्रेलियाले गर्‍यो विद्यार्थी भिसामा कडा नियमको घोषणा

अस्ट्रेलियाले गर्‍यो विद्यार्थी भिसामा कडा नियमको घोषणा

सिडनी- अस्ट्रेलिया सरकारले विदशी विद्यार्थीहरुका लागि थप कडा नियमको घोषणा गरेको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले जुलाईदेखि टुरिस्ट भिसामा रहेका तथा  टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका कुनै व्यक्तिले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।

मन्त्री ओनिलका अनुसार  भिसा क्याटागोरी (सबक्लास ६०० र ४८५) मा रहेकाले अस्ट्रेलियाबाट (अनसोर) विद्यार्थी भिसाको आवेदन दिन नपाउने  थप नियम  घोषणा गरिएको हो ।  उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन् ।

अस्ट्रेलियन सरकारले  यसअघि नेपाल लगायतका देशहरुबाट टुरिस्ट भिसामा अस्ट्रेलिया जाने र  उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर त्यतै बस्ने समस्या बढेपछि थप कडाई गरेको हो ।

अस्ट्रेलियाले कोभिडपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाई गर्दै  आएको छ । यसअघि पनि अस्ट्रेलियाले विदेशी विद्यार्थी संख्या कम गर्नका लागि  धेरै नियम परिवर्तन गरेको थियो ।

ग्राजुएट भिसाको अवधि सकेपछि पुन: विद्यार्थी भिसामा आवेदन दिएर अस्ट्रेलिया नै  बस्नेको संख्या समेत व्यापक बन्दै गएपछि थप कडाईका नियमहरु बनाइएको बताइएको छ ।