छोरालाई दिइएको सजाय माफ नगर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ
- ३२ जेष्ठ २०८१
- १ मिनेटको पढाई
वासिङ्टन डीसी :अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध बन्दुक मामिलामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् । बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
गत हप्ता सङ्घीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलो पटक यस मुद्दामा प्रतिक्रिया दिएका छन् ।अमेरिकामा अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने अधिकार राष्ट्रपतिलाई छ । जी–७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय कम गर्न कदम चाल्छन् कि चाल्दैनन् भनेर सोधेका थिए । ‘म यस विषयमा सन्तुष्ट छु कि म यसबारे केही गर्ने छैन बाइडेनले भने।
अदालतले जे निर्णय गर्याे मलाई त्यो स्वीकार छ । म यसमा कायमै छु र म हन्टरलाई माफ गर्ने छैन ।’ बाइडेनले भनेका छन् । हन्टर बाइडेनलाई हालै लागुऔषध लिएको र बन्दुक राखेको तीनवटा मुद्दामा दोषी ठहर गरिएको थियो । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै बाइडेनले उनी दोषी ठहर भए भने सजाय माफी नदिने बताएका थिए ।