९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

वेस्ट ब्याङ्क बढ्दो स्वास्थ्य सङ्कटमा रहेको डब्ल्यूएचओको चेतावनी

वेस्ट ब्याङ्क बढ्दो स्वास्थ्य सङ्कटमा रहेको डब्ल्यूएचओको चेतावनी

जेनेभा:  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शुक्रबार कब्जामा रहेको वेस्ट ब्याङ्कमा बढ्दो स्वास्थ्य सङ्कटको घोषणा गरेको छ ।

बढ्दो प्रतिबन्ध, हिंसा र स्वास्थ्य पूर्वाधारमा आक्रमणले वेस्ट ब्याङ्कको स्वास्थ्य पहुँचमा बाधा पुर्‍याइरहेको स्वास्थ्य सङ्गठनले बताएको छ ।

संयुक्त राष्ट्र स्वास्थ्य सङ्गठनले एक विज्ञप्तिमार्फत “वेस्ट ब्याङ्कमा नागरिकहरूको तत्काल र सक्रिय सुरक्षा र स्वास्थ्य सेवाका लागि“ आह्वान गरिरहेको छ ।

अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएदेखि पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा जुन १० सम्ममा एक सय २६ बालबालिका सहित ५२१ प्यालेस्टिनीको मृत्यु भएको उल्लेख गरिएको छ।

प्यालेस्टिनी अधिकारीहरूले गाजा युद्ध सुरु भएदेखि कम्तिमा ५४५ प्यालेस्टिनीहरू इजरायली सेनाद्वारा मारिएको भन्दै वेस्ट ब्याङ्कको मृत्युको सङ्ख्या अझ बढी जनाएका छन् ।

मृत्युको अतिरिक्त ८०० बालबालिका सहित ५,२०० भन्दा बढी व्यक्तिहरू घाइते भएको बताउदै डब्ल्यूएचओले “पहिले नै तनावग्रस्त स्वास्थ्य सुविधाहरूमा आघात र आपतकालीन स्वास्थ्य पहुँच“ मा जोड दिएको छ।

सन् १९६७ देखि इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कले एक वर्षभन्दा बढी समयदेखि हिंसा खेपिरहको छ ।

डब्ल्यूएचओले शुक्रबार वेस्ट ब्याङ्कमा स्वास्थ्य सेवामा आक्रमण थप बढीरहेको बताएको छ।

अक्टोबर ७ देखि मे २८ का बिचमा वेस्ट ब्याङ्कमा स्वास्थ्य सुविधा, एम्बुलेन्स, स्वास्थ्यकर्मी र बिरामीलाई हिरासतमा लिएर ४८० वटा आक्रमण भएको डब्ल्यूएचओले तयार पारेको दस्तावेजले जनाएको छ ।

एकै समयमा, चेकपोइन्ट बन्द, बढ्दो असुरक्षा, र सम्पूर्ण समुदायहरूको घेराबन्दीका कारण वेस्ट ब्याङ्कको स्वास्थ्य पहुँचलाई अझ गाह्रो बनाएको थियो।

अक्टोबर ७ देखी पूर्वी जेरुसेलम र इजरायल जान प्रतिबन्ध लगाएसँगै वेस्ट ब्याङ्कका नागरिकहरुको स्वास्थ्य सुविधामा गम्भिर असर परेको छ ।