अनलाइनबाट अर्डर गरेको आइसक्रिममा मान्छेको औँला भेटियो
- ०१ असार २०८१
- १ मिनेटको पढाई
मुम्बई: भारतको मुम्बईमा एक जना डाक्टरले अनलाइन अर्डरमार्फत मगाएको आइसक्रिममा मान्छेको औँला फेला पारेका छन् ।
एक महिलाले एक ग्रोसरी डेलिभरी एपमार्फत् अन्य सामानसँगै आइसक्रिम पनि अर्डर गरेकी थिइन् ।
उक्त आइसक्रिम खाने क्रममा ती महिलाका दाजु ओर्लेम ब्रेन्दन सेराओले मान्छेको औँला फेला पारेका हुन् ।
२६ वर्षीय सेराओ डाक्टर हुन् । उनले बटर स्कच आइसक्रिम आधा जति खाइसकेपछि जिब्रोमा केही अनौठो चिज महसुस गरे ।
हेर्दा आइसक्रिमभित्र मान्छेको औँला पाइयो । त्यसपछि उनले तत्कालै यो विषयमा आइसक्रिम कम्पनीको इन्स्टाग्राम पेजमा गएर गुनासो टिपाए ।
तर, कम्पनीबाट कुनै प्रतिक्रिया आएन । त्यसपछि उनले प्रहरीलाई जानकारी गराए छानबिनको क्रममा रहेको प्रहरीले आइसक्रिममा भेटिएको वस्तु मान्छेकै औँला भएको बताएको छ । प्रहरीले अहिले उक्त औँला फरेन्सिक जाँचका लागि पठाएको छ ।
प्रहरीले आइसक्रिम कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।