८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग

संस्कृतिलाई जोड्दै  गुरुङ सम्पदा पदमार्ग

गण्डकी ।  गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ ।

जथाभाबी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो ।

मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् ।

आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रुपमा भेडा पालनसँगै सिलाई बुनाइलाई मुख्य पेसाका रुपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ ।

पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घर बास (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।

गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्लेस ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटाजस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घर बास सञ्चालनमा आइसकेको छ ।

यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र जीवनशैलीका सूचना सङ्कलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवद्र्धन एवं अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा सङ्कलन तथा फोटो तथा फुटेजहरू सङ्कलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ ।

यस पदमार्गको प्रवद्र्धन र विकास हुन सकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मर्स्याङ्दी, क्होलासाँथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने छन् ।