६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

रुसविरुद्ध बेलायती र अमेरिकी हतियार प्रयोगको अनुमति, बहुदेशीय युद्ध हुने खतरा

रुसविरुद्ध बेलायती र अमेरिकी हतियार प्रयोगको अनुमति, बहुदेशीय युद्ध हुने खतरा

सन्त रिसाल, न्युयोर्क

अमेरिका र बेलायतले रुसविरुद्ध आफ्ना हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका छन्। अमेरिकाकी राष्ट्रपति जोए बाइडेनले यो अनुमति दिएसँगै रुस रुष्ट बनेको छ भने युक्रेनलाई ठूलो राहत मिलेको छ।

त्यसैगरी बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनको राजधानी किभ पुगेर हतियार प्रयोग गर्ने अनुमति दिए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई आश्वासन दिँदै क्यामरुनले भने, “युक्रेनलाई रुसमा आक्रमण गर्ने अधिकार छ, बेलायती हतियार प्रयोग गरे हुन्छ। बेलायतले युक्रेनलाई आवश्यक परेसम्म हरेक वर्ष तीन अर्ब युरो सहयोग गर्ने छ।”

बेलायतका विदेशमन्त्रीको यो भनाइप्रति रुसले भने कडा आपत्ति जनाएको छ। यो सिधै युक्रेन वरपर तनाव बढाउनु हो र यसले युरोपकै सुरक्षालाई खतरामा पार्न सक्छ भन्दै रुसले आफ्नो कूटनीतिक सीमा बाहिर नजान बेलायतलाई चेतावनी दिएको छ।

उता अमेरिकाले पनि युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने भएको छ। अमेरिकी संसद्ले हालै ६१ अर्ब डलर बराबरको सैन्य सहायता दिने प्रस्ताव पारित गरेको हो। यो प्रस्ताव परित गरेसँगै अमेरिकाले युक्रेनमा हतियारसहितको सैन्य सहायता पठाउन सुरु गरेको छ। अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन हतियारसहितको सैन्य सामग्री लिएर युक्रेन गए।

विगत दुई वर्षदेखि जारी रुस–युक्रेन युद्धमा पराजयको डिलमा पुगेको युक्रेनलाई अमेरिका, बेलायत लगायतका सहयोगी देशको हतियार तथा आर्थिक सहयोगले केही राहत पुगेको छ। अमेरिकाले गोप्य रुपमा लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र युक्रेनलाई दिइसकको छ भने प्याट्रियट क्षेप्यास्त्र पनि पठाउँदै छ। रुसले यो युद्ध जिते युक्रेनलाई आफूमा विलय गराउन सक्ने र सारा युरोपको सुरक्षा खतरामा पर्ने भन्दै पश्चिमा मुलुक चिन्तित छन्। रुसभित्र लोकप्रिय र निर्विकल्प नेता राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो युद्धमा हराउन सकिएन भने विश्व शक्ति सन्तुलन नै बिग्रिने डरले अमेरिका, बेलायत, युरोपेली सङ्घ, क्यानडा, जापान, अस्ट्रेलियालगायतका मुलुकले जसरी पनि रुसलाई हराएर युक्रेनलाई जिताउन लागी परेका छन्, जसले गर्दा यो युद्ध तत्काल अन्त्य हुने सम्भावना कम हुँदै गएको छ।

पश्चिमा मुलुकहरूले रुसमाथि थप प्रतिबन्ध लगाएर दबाब बढाएसँगै रुस र चीनबिचको निकटता झन् बढेको छ। रुसका राष्ट्रपति पुटिनले हालै दुई दिने चीनको भ्रमण गरी आफूलाई सहयोग र समर्थन गर्न चीनलाई आग्रह गरे।

रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ। यही युद्धले एकातिर महँगी र बेरोजगारी बढाएको छ भने अर्कातिर बहुदेशीय युद्ध हुने खतराको सङ्केत गरेको छ। क्षेत्रीय शान्ति र सुरक्षा खलबलिएको छ। रुसलाई कमजोर बनाउन अमेरिका र उसका साझेदार मुलुक खुलेरै लागेको छन्। रुसका राष्ट्रपति पुटिनप्रति भने रुसी जनताको पूर्ण सहयोग र समर्थन छ। जसले गर्दा रुस लामो समयसम्म युद्धलाई जारी राख्न सक्छ। युक्रेनका सहयोगी मुलुक जसरी पनि रुसलाई हराउने पक्षमा लागे भने बाध्य भई रुसले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्न सक्ने अवस्था आउन सक्छ। त्यो अवस्था आउन नदिन रुस र युक्रेनबीच युद्धविराम गराएर युद्ध अन्त्य गर्न विश्वस्तरबाट सकारात्मक प्रयास गर्न ढिला गर्नु हुँदैन। तर दुर्भाग्य के भइदियो भने आफ्ना हतियार बेच्न सैन्य सहायताका नाममा पश्चिमा मुलुकले युक्रेनलाई उचाल्ने काम गरेका छन्। यसले समस्या झन् बल्झाउने गरेको छ।

युक्रेनलाई सहयोग गर्ने भन्दै अमेरिका, बेलायत, युरोपेली सङ्घ, अस्ट्रेलिया, क्यानडा र जापानले रुसमाथि १६ हजारभन्दा धेरै प्रतिबन्धलाई अरु कडा बनाएका छन्। रुसको ३५० अर्ब डलर मूल्य बराबरको विदेशी मुद्राको सञ्चितिलाई रोक्का गरिएको छ।

अमेरिकाका राष्ट्रपति बाइडेनले हालै रुसमाथि पाँच सय नयाँ प्रतिबन्धको घोषणा गरे। उनले करिब सय कम्पनी र व्यक्तिमाथि निर्यात प्रतिबन्ध लगाए। यसको उद्देश्य अमेरिकाले रुसको युद्ध सामग्रीलाई निशाना बनाउनु हो। अमेरिका र बेलायतले रुसी तेल र प्राकृतिक ग्यासमाथि रोक लगाएका छन्। युरोपेली सङ्घले सामुद्रिक मार्गबाट हुने रुसी तेलको आयातलाई रोकिदिएको छ। जी–सेभेनले रुसको आम्दानीलाई घटाउने प्रयत्नस्वरूप रुसी कच्चा तेलको अधिकतम मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर तोकेको छ। बेलायतले रुसको धातु, हिरा र ऊर्जा निर्यातमा पनि नयाँ प्रतिबन्ध लगाएको छ। युरोपेली सङ्घले पनि रुसका दुई सय संस्था तथा व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।

रुसको अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यले यस्ता प्रतिबन्ध लगाइएको भए पनि रुसको अर्थतन्त्र सोचेजस्तो कमजोर भएको छैन। रुसले चीनबाट हतियारसम्बन्धी सामग्रीको प्रबन्ध गरिराखेको छ जसले गर्दा रुसी अर्थतन्त्र निरन्तर उँभो लागेको छ। रुसका राष्ट्रपति पुटिनले युरोपेली प्रतिबन्धले रुसलाई कुनै हानि नगरेको दाबी गर्दै भने, “हाम्रो अर्थतन्त्रमा विकास भइराखेको छ, उनीहरूकोमा गिरावट आएको छ।” रुस जी–सेभेनले तोकेभन्दा अधिक मूल्यमा अन्य देशलाई तेल बेच्न सफल भएको छ। भारत र चीनमा आपूर्ति बढाएर रुसले अझै पनि दैनिक ८३ लाख ब्यारेल तेल निर्यात गरिरहेको छ। रुसले जर्जिया, बेलारुस र काजकिस्तान जस्ता देशहरूमार्फत् प्रतिबन्धित पश्चिमा सामानहरू आयात गर्न पनि सक्षम छ।

रुसले सन् २०२३ को सुरुदेखि नै हतियार उत्पादनमा निकै वृद्धि गरेको छ। यस अवधिमा रुसको लामो दूरीका क्षेप्यास्त्रहरूको उत्पादन दोब्बर भएको छ। पश्चिमा प्रतिबन्ध भए पनि रुसले विदेशबाट लाखौँको सङ्ख्यामा हतियारमा प्रयोग हुने इलेक्ट्रोनिक सामग्री किन्दै आएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार युद्धको पहिलो वर्ष सन् २०२२ मा रुसको अर्थतन्त्र २.१ प्रतिशतले खुम्चिएको थियो। सन् २०२३ मा २.२ प्रतिशतले वृद्धि भयो भने सन् २०२४ मा ३.२ प्रतिशतको वृद्धि हुने अनुमान छ।

युक्रेनसँगको युद्धसँगै रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर राष्ट्रपति पुटिनमाथि पर्ने अमेरिका लगायतका पश्चिमा देशहरूको अनुमान सत्य सावित भएन । युद्धबीच पनि रुसले राष्ट्रपतीय निर्वाचन गरायो तर युक्रेनले चुनाव गराउन सकेन। गएको मार्च ३१ म त्यहाँ राष्ट्रपतीय चुनाव हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि चुनाव भएन। सन् २०२२ को फेबु्रअरी २४ मा रुसले आक्रमण सुरु गरेसँगै युक्रेनमा सैनिक कानुन लागू गरिएको छ। जेलेन्स्कीका कारण युद्धमा १८ प्रतिशत भूभाग गुमाएको र युद्ध जित्ने सम्भावना नदेखिएकोले युक्रेनीहरू राष्ट्रपति जेलेन्स्कीप्रति रुष्ट छन्। उनीहरूले जेलेन्स्कीको विकल्प खोजिरहेका छन्। चुनाव हारिने डरले जेलेन्स्की तत्काल चुनाव गराउने पक्षमा छैनन्।

अभिनेताबाट राजनीतिमा आएका राष्ट्रपति जेलेन्स्की नेटो र इयुतिर आकर्षित हुनु नै अहिले समस्याको मूल कारण हो। यो उनको राजनीतिक र कूटनीतिक कच्चापनले युक्रेन इतिहासकै सबभन्दा अप्ठेरो अवस्थामा आइपुगेको छ। दुई असल छिमेकी भएर बस्ने वातावरण नबनाएकै कारण यो सङ्कट आएको हो। जेलेन्स्कीको कमजोरीले नै पुटिन युद्धद्वारा निकास खोज्ने अवस्थामा पुगे। यो अवस्था अरु बिग्रिन नदिन युद्ध रोकी वार्ताद्वारा समस्या समाधान गर्नुपर्छ नत्र परिस्थिति जटिल बन्नेछ।

सम्बन्धित खबर

Image

 छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट

Image

ह्याप्पी तीज