२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

साउदीमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण १४ जोर्डनका नागरिकको मृत्यु भएको छ । जोर्डनका अधिकारीहरूले उक्त जानकारी दिएका हुन्।

जोर्डनको विदेश मन्त्रालयले १४ नागरिकको ‘अत्यधिक गर्मीका कारण’ मृत्यु भएको र १७ जना बेपत्ता भएका बताएको छ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ तर उनीहरुको मृत्यु कसरी भयो भन्ने बताएको छैन।

एक विज्ञप्तिमा, जोर्डनको विदेश मन्त्रालयले मृत्यु भएकाहरूको परिवारको इच्छा अनुसार मृत्यु भएकाहरूको शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिइरहेका छन् ।

यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ, जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरै मानिसहरू, विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भएको छ। बीबीसी