आइजिपी फेर्ने गृहमन्त्रीको चाहना : बन्न सक्छ सरकार छाड्ने बहाना
- ०४ असार २०८१
- २ मिनेटको पढाई
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्ने नसके सरकारबाट आफै बाहिरिने बताउँदै आएका छन् । जोखिम मोलेर सरकारमा गएको बताउदै उनले काम गर्न नसकेको अवस्थामा सरकारबाट बाहिरिन सबैको झोलामा राजीनामा सँगै रहेको बारम्बार बताउँदै आएका छन् ।
कांग्रेसले काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नुपरेको आरोप लगाउँदै उनले आफूहरु काम गर्न नसके आफैँ बाहिरिने बताइरहेका छन् । उनले आफूले भ्रष्टाचारका माछा समाउन थालेको बताउँदै ‘कतिपय माछाहरू बडो चिप्लो हुने र समाउन खोज्दाखोज्दै चिप्लिने गरेको तर जतिसुकै चिप्ला र बाठा तिनीहरूको कुनै सीप नलाग्ने उनले दाबी गर्दै आएका छन् ।
रवि मात्र होइन, उनको पार्टीका हरेकजसो सांसदले काम गर्न नसके वा नदिइए सरकार छाड्ने बताउँदै आएका छन् । शनिबार मात्रै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पनि अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका थिए । रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले राजीनामा पत्र खल्तीमा बोकर हिँडेको भन्दै त्यस्तो अवस्था आए मिति मात्र लेखेर राजीनामा दिन तयार भएको बताएका थिए ।
उनले भनेका थिए, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ । त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ ।’
उनले सत्तामा पुरानो कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको भन्दै सरकारलाई दिएको समर्थनमाथि समीक्षा गर्नुपर्ने बेला आएको नै बताए । उनले भने, ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा सबैले अनुभव गरिरहेका छौँ । किनभन्दा हामीले सरकारको नेतृत्व गरिरहेका छौँ र सत्ता पुरानो कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौँ । हामीले सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला पनि छ । साथै सत्ता साझेदार दलहरूले पनि यसलाई एक पटक समीक्षा पनि गर्ने र पुनरावलोकन पनि गर्ने कुराहरू पनि चल्न थालेको छ ।’
पहिलोपटक सरकारमा गएका बेला नागरिकतामा देखिएको त्रुटिका कारण सरकारबाट बाहिरिन बाध्य भएका लामिछानेको गृहमन्त्रीमा यो दोस्रो इनिङ हो । उनले पछिल्लो कार्यकालमा सहकारी ठगीको बिल्ला मात्रै होइन, कामै गर्न नसकेको आरोपसमेत खेप्दै आएका छन् । रास्वपाका मन्त्रीहरूले सार्वजनिक गरेको सयदिने उपलब्धिमा पनि ‘केही गर्न नसके पनि केही बिगारेनौँ’ भन्ने निष्कर्ष देखिएको छ ।
पछिल्लो समय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रमुख (आइजिपी) वसन्तबहादुर कुँवरसँग सन्तुष्ट छैनन् । आइजिपी कुँवर आफ्नो स्पिरिट अनुसार हिँड्न नसकेको गृहमन्त्री लामिछानेको बुझाइ छ । त्यसैले उनले प्रहरी प्रमुखलाई हटाउन चाहेको चर्चा हुँदै आएको छ ।
कान्तिपुर पब्लिकेसनसका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने विषयमा गृहमन्त्री र आइजिपी कुँवरबीच मतभिन्नता देखिएको थियो । गृहमन्त्री लामिछाने सिरोहियालाई तत्कालै नियन्त्रणमा लिन ताकेता गरिरहेका थिए भने कुँवरले प्रधानमन्त्रीसँग पनि कुरा गर्नुपर्ने बताएका थिए ।