सोलुखुम्बु – मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।
गएको जेठ २६ गतेदेखि अतिव्यस्त विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा पुगेको पर्यटक मर्कामा परेका हुन् ।
अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए।
लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको पनि उनले बताए।
सुर्के केही होचो ठाउँ भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाण्डौ ल्याउने गरेका छन् ।
भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् ।
लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ ।
यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाण्डौ फर्कने गरेका छन् ।
मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले लुक्लामा हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ ।
विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।
लुक्लामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ ।
यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ ।
लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो ।
काठमाण्डौबाट जहाजमार्फत लुक्ला ओर्लिने पर्यटक त्यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् ।
यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ ।