८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ।

वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। इङ्ग्लयाण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए। उनले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गरेका हुन्।

जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाए। बलिङतर्फ वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक/एक विकेट लिए।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो।

वेस्टइण्डिजका लागि जोनसन चार्लसले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए। उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६/३६ रन बनाए। त्यस्तै शार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे।

इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक/एक विकेट लिए। विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति नेपाली समयअनुसार ८:१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन्।