९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

बेलायतको सबैभन्दा धनी परिवारको तस्करी मुद्दामा स्विस फैसला आउँदै

बेलायतको सबैभन्दा धनी परिवारको तस्करी मुद्दामा स्विस फैसला आउँदै

जेनेभा- जेनेभामा आफ्नो बङ्गलामा मानव तस्करी र कर्मचारीहरूको शोषण गरेको आरोपमा बेलायतका सबैभन्दा धनी परिवारका चार सदस्यको भाग्यको फैसला शुक्रबार स्विस अदालतमा हुने भएको छ ।

अभियोजकहरूका अनुसार हिन्दुजाहरूले आफ्ना सेवकहरूको तुलनामा आफ्ना कुकरमाथि धेरै पैसा खर्च गरेका छन् ।

हिन्दुजाहरूको सम्पत्ति सन्डे टाइम्सले ३७ अर्ब पाउन्ड (४७ अर्ब डलर) रहेको अनुमान गरेको छ । यो आरोप आफ्नो जन्मभूमि भारतबाट सेवकहरू आयात गर्ने परिवारको अभ्यासबाट आएको हो ।

फैसला स्थानीय समयानुसार दिउँसो ४ बजे आउने अपेक्षा गरिएको छ ।

प्रकाश र कमल हिन्दुजा, उनहरूका छोरा अजय र उनकी श्रीमती नम्रतामाथि स्विट्जरल्यान्ड गएपछि आफ्ना सेवकहरूको राहदानी जफत गरेको आरोप लगाइएको छ ।

हिन्दुजाहरूले आफ्ना कर्मचारीहरूलाई सामान्य तलब दिएको र सेवकहरूलाई घर छाड्न अत्यन्त कम स्वतन्त्रता दिएको अभियोजकहरूको आरोप छ ।

परिवारले आरोपलाई अस्वीकार गर्दै अभियोजकहरूले ‘हिन्दुजाहरूमा केही गर्न’ चाहेको दाबी गरेको छ ।

हिन्दुजा परिवारले आफूहरूमाथि आरोप लगाउने तीन कर्मचारीसँग अदालतबाहिर गोप्य सम्झौता गरेको छ ।

यसका बाबजुद अभियोजन पक्षले आरोपहरूको गम्भीरताका कारण मुद्दालाई अगाडि बढाउने फैसला गरेको छ ।

जेनेभाका पहिलो अभियोजक इवेस बर्टोसाले प्रकाश र कमल हिन्दुजालाई साढे पाँच वर्षको हिरासतमा राख्न अनुरोध गरेका छन् ।

अठहत्तर वर्षीय प्रकाश र ७५ वर्षीया कमल दुवै स्वास्थ्य अवस्थाका कारणले ट्रायल सुरु भएदेखि अनुपस्थित थिए।

आफ्नो समापन सम्बोधनमा अभियोजकले परिवारमाथि पैसा बचाउनका लागि शक्तिशाली रोजगारदाता र कमजोर कर्मचारीबीच ‘विषम अवस्था’ को दुरुपयोग गरेको आरोप लगाए।

घरेलु कर्मचारीहरूलाई प्रतिमहिना दुई सय २० देखि चार सय फ्रेङक (दुई सय ५० देखि चार सय ५० डलर) को बीचमा तलब दिइन्थ्यो ।

यो स्विट्जरल्यान्डमा उनीहरूको कमाउनसक्ने अपेक्षाभन्दा धेरै कम थियो ।

“उनीहरूले संसारको दुःखबाट फाइदा उठाइरहेका छन्”, बर्टोसाले अदालतमा भने। तर हिन्दुजा परिवारको बचाउ पक्षका वकिलहरूले तीनै जना वादीहरूले पर्याप्त फाइदा पाइरहेको, अलग्गै नराखिएको र भिल्ला छाड्नका लागि स्वतन्त्र थिए भनी तर्क दिएका छन् ।

“हामी दुर्व्यवहार गरिएका दासहरूसँग व्यवहार गरिरहेका छैनौँ”, वकिल निकोलस जिनडिनले अदालतलाई भने।“वास्तवमा कर्मचारीहरू आफूलाई राम्रो जीवन दिएकामा हिन्दुजा परिवारप्रति आभारी थिए”, अर्का वकिल रोबर्ट असेलले तर्क दिए।

अजय हिन्दुजाको प्रतिनिधित्व गर्दै वकिल येन हयातले ‘अत्यधिक’ अभियोगको आलोचना गर्दै मुद्दा ‘सामाजिक न्यायको नभई न्यायको सवाल हुनुपर्ने’ बताए। उनकी श्रीमती नम्रताका वकिल रोमेन जोर्डनले पनि उहाँलाई सफाइ दिन आग्रह गर्दै अभियोजकहरूले परिवारलाई उदाहरण दिन खोजेको दाबी गरे। अभियोजन पक्षले कर्मचारीहरूलाई नगद तलबबाहेक गरिएका अन्य भुक्तानी उल्लेख गर्न असफल भएको उनले बताए।

“कुनै पनि कर्मचारीलाई तलबबाट धोका दिइएको छैन”, असेलले भने। केही कर्मचारीले तलब वृद्धिको माग गर्दा पूरा भएको छ । तेल र ग्यास, बैंकिङ र स्वास्थ्य सेवामा रुचि राख्ने हिन्दुजा समूह ३८ मुलुकमा अवस्थित छ र करिब दुई लाखलाई रोजगारी दिएको छ ।