दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, २० जनाको मृत्यु
- १० असार २०८१
- १ मिनेटको पढाई
सियोल : दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा २० जनाको मृत्यु भएको छ।
दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा सोमबार बिहान आगलागी भएको हो ।
स्थानीय टेलिभिजन फुटेजले आगो निभाउने प्रयास गर्दा पनि कारखानामा सानो विष्फोट भएको देखाइएको छ।
सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो ।
दक्षिण कोरिया लिथियम ब्याट्रीको ठूलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र ल्यापटपमा प्रयोग गरिन्छ।
यस कारखानाको दोस्रो तल्लामा करिब ३५ हजार ब्याट्री राखेर अन्य ठाउँमा पठाउनका लागि ती ब्याट्रीहरू प्याक गरिएको थियो ।
ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए ।