६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

हजयात्रामा मृत्यु हुनेको संख्या १३०१ पुग्यो

हजयात्रामा मृत्यु हुनेको संख्या १३०१ पुग्यो

साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ। साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएका छन्।

साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई मृत्युको कारण देखाएको छ।

गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हजयात्रा भएको हो।

साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सीका अनुसार मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति थिएन र तिनीहरू प्रचण्ड गर्मीमा आश्रय बिना हिंडिरहेका थिए।

मृतकमध्ये केही वृद्ध र बिरामी थिए।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए।

स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ। जसमध्ये १ लाख ४० हजार विना अनुमति यात्रा गर्ने व्यक्ति थिए।

हजयात्राका क्रममा लगातार मृत्यु हुने र विशेषगरी अनुमतिबिना आउने मानिसलाई सुविधा नदिएको भन्दै साउदी अरेबियाको आलोचना भइरहेको छ।

हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन्। इजिप्टका ६५८ मृत्यु भएको छ भने ९८ भारतीयको मृत्यु भएको छ।