८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

तनहुँ, १३ असार : जिल्लाको व्यास नगरपालिकाले ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

व्यास नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा ७० वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाको सुविधा दिने उल्लेख गरिएको छ ।

सङ्घीय र प्रदेश सरकारसँगको सहकार्यमा अति विपन्न एवं अपाङ्गताको स्वास्थ्य बीमा गर्ने नीति अवलम्बन गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

उनका अनुसार व्यास नगरपालिकाभित्रका विपन्न परिवारको तथ्याङ्क लिई जटिल रोग लागेका परिवारलाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइने छ ।

व्यास नगरभित्रका गर्भवतीको नियमित स्वास्थ्य परीक्षण एवं संस्थागत सुत्केरी प्रोत्साहन भत्ताको व्यवस्थालाई निरन्तरता दिइने भएको छ ।

विपन्न नागरिकलाई गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा र आर्थिक सहयोगलाई निरन्तरता दिई सङ्घ सरकारको सहयोगमा जटिल रोग लागेका बिरामीलाई उपचारमा सहयोग गर्ने व्यवस्थालाई नियमित र विश्वसनीय बनाइने भएको छ ।

व्यास नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई स्तरीकरण गर्दै हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरुको सहयोगमा सरुवा रोगलगायतका सङ्क्रमणबाट नगरवासीलाई सुरक्षित राख्न आवश्यक व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण तथा सामग्री आपूर्तिको व्यवस्था मिलाइने व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।

“व्यास–११ स्थित बाघेचौरमा तयार गरिएको गुरुयोजनाअनुसार शिक्षण अस्पताल स्वीकृतिका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिने छ,” उनले भने, “अपाङ्गता क्षेत्रमा विशेष गरी मनोसामाजिक अपाङ्गता भएकालाई स्वास्थ्य क्षेत्रमा सहयोग पु-याउने योजना लिइएको छ ।”