पुटिनलाई कम्युनिस्ट मुलुकहरूको भर
- १४ असार २०८१
- ४ मिनेटको पढाई

न्युयोर्क – युक्रेन युद्धका कारण पश्चिमा मुलुकहरूबाट एक्लिएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले कम्युनिस्ट मुलुकहरूको भर परेका छन्। उनले चीन, उत्तर कोरिया र भियतनामसँग सहयोग मागेका छन्।
रुस र उत्तर कोरिया दुबैसँग परमाणु हतियार छन्। रुसको तुलनामा क्षेत्रफलका हिसाबले उत्तर कोरिया निकै सानो भए पनि उसँग परमाणु हतियारसहितको अस्त्र भण्डार ठूलो छ। दुवै मुलुकमाथि चर्को अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइएको छ र पश्चिमा मुलुकहरूबाट एक्लाइएको छ। त्यही भएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वैकल्पिक शक्तिका रुपमा आफ्नो पहिचान बनाउँदै निकटता बढाएका छन्।
राष्ट्रपति पुटिनले २४ वर्षपछि पहिलो पटक (जुन १९–२०)मा उत्तर कोरियाको दुई दिवसीय राजकीय भ्रमण गरे राजधानी प्योङयाङमा सर्वोच्च नेता किमले रातो कार्पेट ओच्छ्याएर पुटिनको भव्य स्वागत सत्कार गरे।
रुस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरुन्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन्। भ्रमणको क्रममा राष्ट्रपति पुटिन र सर्वोच्च नेता किमले शीत युद्धकालीन आपसी रक्षा सन्धी ब्युँताउने खालको सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौतासँगै उत्तर कोरिया वा रुसमा कसैले सशस्त्र हमला गरे दुवै मुलुक सैन्य सहायता पठाएर प्रतिकार गर्ने छन्। उत्तर कोरियासँगको यो सम्झौताले रुसलाई ठूलो राहत मिलेको छ।
“दुईमध्ये कुनै एक देशमाथि हमला भयो वा युद्धमा होमियो भने संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ५१ अनुसार अर्को देशले आफ्ना सबै उपलब्ध उपाय प्रयोग गरी तुरून्तै सैन्य र अरू खालको सहयोग गर्नेछ,” पुटिन र किमले हस्ताक्षर गरेको सम्झौताको धारा ४ मा उल्लेख छ। संयुक्त राष्ट्रसङ्घको वडापत्रको धारा ५१ ले कुनै पनि सदस्य राष्ट्रलाई एकल वा सामूहिक रूपमा आत्मरक्षाको कार्य गर्ने अधिकार दिएको छ। यही वडापत्रको धारा ५१ लाई टेकेर रुस र उत्तर कोरियाबीच यो सम्झौता भएको हो।
राष्ट्रपति पुटिनले उत्तर कोरियाको भ्रमणसँगै अर्को कम्युनिस्ट मुलुक भियतनामको पनि भ्रमण (जुन २०–२१) गरी सम्बन्ध सुधार र मित्रतालाई नवीकरण गरे। यो भ्रमणले पनि उनलाई थप बल प्रदान गरेको छ। भियतनाका कम्युनिस्ट नेताहरूसँग वार्ताले पनि पुटिनलाई थप उत्साही बनाएको छ। उत्तर कोरियाले जस्तै भियतनामले पनि युक्रेनसँगको युद्धमा रुसलाई समर्थन गरेको छ।
सन् २०२२ को फेब्रुअरी २४ देखि रुस र युक्रेन युद्ध सुरु भएको हो। ७२ घण्टामा पूरा युक्रेन कब्जा गर्ने रणनीतिअनुरुप आक्रमण सुरु गरेको रुसले तत्काल लक्ष्यमा पुग्न नसकेसँगै युद्ध लम्बिँदै गयो। युक्रेनले एक्लै युद्ध लड्न नसक्ने भन्दै पश्चिमा मुलुकसँग सहयोग माग्यो। युद्ध सुरु भएको दुई महिनामा आत्मसमर्पण गर्ने चरणमा पुगेको युक्रेनलाई पश्चिमा मुलुकको सहयोगले युद्ध जारी राख्न बल पुगेको छ। विस्तारै विस्तारै हतियार, गोलाबारुद, बम र क्षेप्यास्त्रसाथै आर्थिक सहयोग पाउँदै गएपछि युक्रेन युद्धमोर्चाबाट पछि हटेन। अहिले त यो युद्ध दुवै पक्षलाई ठूलो प्रतिष्ठाको विषय बनेको छ।
रुसलाई हराउन सकिएन भने युक्रेन रुसमा विलय हुनेमात्र होइन सारा युरोप र अमेरिकाको सुरक्षा खतरामा पर्छ भन्ने पश्चिमा मुलुकको विश्लेषण छ। त्यही भएर पश्चिमा मुलुक जसरी पनि युक्रेनलाई जिताउन लागिपरेका छन्। बेलायत र अमेरिकाले आफ्ना हतियार रुसविरुद्ध प्रयोग गर्न युक्रेनलाई अनुमति दिइसकेको छन्। यसले गर्दा रुस–युक्रेन युद्ध तत्काल अन्त्य हुने सम्भावना कम बन्दै गएको छ।
पश्चिमा मुलुकले उत्तर कोरियालाई र रुसलाई अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएर कमजोर बनाउन र हराउन हदैसम्मको प्रयास जारी राखेको छन्। तर दुवै मुलुक अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइए पनि पछि हटेका छैनन्।
राष्ट्रपति पुटिनले त रुसमाथि आक्रमण भएमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। परमाणु हतियार बनाएको भन्दै उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी हटाउनुपर्छ भन्ने पुटिनको अडान र ढाडसले सर्वोच्च नेता किमलाई पनि ठूलो राहत मिलेको छ।
सर्वोच्च नेता किमले रुस भ्रमण गरेको नौ महिनापछि राष्ट्रपति पुटिनले उत्तर कोरिया भ्रमण गरेका हुन्। त्यसअघि सन् २०१९ अप्रिलमा पनि किमले रूस भ्रमण गरेका थिए।
उत्तर कोरियालाई तत्कालीन सोभियत सङ्घको सहयोग र समर्थन थियो तर अहिलेजस्तो ठूलो महत्व दिइएको थिएन। त्यतिबेलाका कुनै सोभियत सरकार प्रमुखले उत्तर कोरिया भ्रमण गरेनन्। कोरिया कब्जा गरेको जापानले दोस्रो विश्व युद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजित भयो। उत्तर कोरियामा कम्युनिस्ट शासन र दक्षिण कोरियामा पुँजीवादी शासन कायम भयो। उत्तर कोरियालाई सोभियत सङ्घ र दक्षिण कोरियालाई अमेरिकाको साथ र समर्थन रह्यो। किमका हजुरबुबा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत सङ्घकै सहयोगमा सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेसँगै कोरियाली यद्ध भयो। तीन वर्षसम्म चलेको यो युद्धमा २५ लाख मानिसको ज्यान गयो भने भौतिक संरचनाहरू ध्वस्त भए।
सोभियत सङ्घले उत्तर कोरियालाई हतियार मात्रै दियो, प्रत्यक्ष रूपमा युद्ध लडेन। दक्षिण कोरियाका लागि भने अमेरिकाले सेना पठाएरै लड्यो। सन् १९५३ मा दुई कोरियाबिच युद्धविराम भयो। युद्ध रोकियो तर दक्षिण कोरियाले भने शान्ति सम्झौतामा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन्।
उत्तर कोरियाले सन् २००६ मा परमाणु हतियार बनाएर शक्तिशाली बनेसँगै विश्वकै ध्यान खिच्न सफल भयो। सन् २०१८ मा तत्कालीन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सिङ्गापुरमा शिखर वार्ता भयो। यो वार्तासँगै अमेरिका उत्तर कोरियाप्रति केही नरम भयो तैपनि नाकाबन्दी भने कायमै छ।
रुसले अहिले उत्तर कोरियालाई ठूलो महत्व दिएको छ। सैन्य बलमा उत्तर कोरिया निकै शक्तिशाली भएर आएको छ। दक्षिण कोरिया र जापानको सुरक्षाका लागि दुवै मुलुकमा अमेरिकी सैन्य अखडा छन्। अमेरिकी सेना नहुने हो भने उत्तर कोरियाले कुनै पनि बेला दुवै मुलुकमाथि आक्रमण गर्नसक्ने अवस्था छ।
चीन, उत्तर कोरिया, भियतनाम र रुसबीच बढ्दै गएको निकटताले दक्षिण पूर्वी एसियामा आफ्नो प्रभाव कमजोर हुन्छ कि भन्ने चिन्ता अमेरिकालाई छ। आर्थिक र सैन्य शक्ति बनेको चीनलाई उछिन्न नदिन पनि रुस र उत्तर कोरियासँग उसको निकटता नबढोस् भन्ने चाहेको अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गराउनेतर्फ तत्काल कदम चाल्नुपर्ने देखिएको छ। युक्रेनको पक्षमा उभिएर रुसविरुद्ध अमेरिकी र बेलायती हतियार प्रयोग भई रुसी भूमिमा क्षति भयो भने रुस चुप लागेर बस्ने छैन। यस्तो चेतावनी रुसले दिइसकेको छ। त्यो अवस्थामा रुसले परमाणु हतियार प्रयोग गर्नसक्छ जसले महासङ्कट र अकल्पनीय मानवीय दुर्घटना निम्त्याउन सक्छ।
अब यो जारी युद्ध अन्त्यतिर गएन र रुसविरुद्ध बेलायत र अमेरिकाका हतियार प्रयोग हुन थाल्यो भने यसले क्षेत्रीय युद्धमात्र होइन तेस्रो विश्वयुद्ध निम्त्याउने खतरा छ जुन विश्वकै लागि दुर्भाग्य हुनेछ। त्यसो भएको हुँदा अमेरिकाले यो युद्ध अन्त्य गराउन पहल गर्नु बुद्धिमानी हुनेछ।
ट्रेन्डिङ
१.
सुबिधा खोज्दै शहर पस्नाले रित्तिँदै गाउँ
- २४ जेष्ठ २०८१
२.
३.
४.
रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड
- १८ जेष्ठ २०८१
५.
कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र
- १६ जेष्ठ २०८१
सम्बन्धित खबर
कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार गर्यो
- ०८ जेष्ठ २०८२
- १ मिनेटको पढाई
भारत–पाक युद्ध रोक्दा ट्रम्पलाई ऐतिहासिक सफलता
- ३० बैशाख २०८२
- ४ मिनेटको पढाई
एनआरएनए आईसीसी : संस्था कि राजनीतिक भातृसंस्था?
- २३ बैशाख २०८२
- ३ मिनेटको पढाई
किन बन्द भए युएसएआइडीका धेरै कार्यक्रम?
- ०७ चैत्र २०८१
- ३ मिनेटको पढाई