८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्मा र विराट कोहलीले लिए सन्यास

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्मा र विराट कोहलीले लिए सन्यास

काठमाडौं : भारतीय क्रिकेटर रोहित शर्मा र विराट कोहलीले विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय टोलीका कप्तान रोहित शर्मा तथा विराट कोहलीले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन् ।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको अन्तिम खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल भएकोले होला मलाई हरेक पल मनपर्यो। म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।

राती भएको खेलमा भारतीय टोलीले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो। जसमा विराट कोहलीले मात्र ७६ रनको इनिङ खेलेका थिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिएका थिए ।

विराटले सन्यासको घोषणा गर्दै भने, ‘हामी यो कप उठाउन चाहन्थ्यौं। हामीले हारेको भए पनि मैले सन्यास लिने घोषणा गर्ने थिए। अब अर्को पुस्तालाई पालो दिने समय आएको छ। टी-२० खेललाई अगाडि बढाउन लामो समय लाग्छ।’